काठमाडौँ, १३ असार २०८२ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्ड बैठकले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेको हो ।

यस वर्षको एसईई परीक्षामा कुल ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि परीक्षामा ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले दिएको विवरणअनुसार, कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यो अघिल्लो वर्षको तुलनामा १३.९५ प्रतिशतले सुधार हो। गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
जीपीए विवरण
- ४.०० (पूर्ण ग्रेड पाउने): ९७१ जना
- ३.६० देखि ४.००: ४८,१७७ जना
- ३.२० देखि ३.६०: ८१,३५५ जना
- २.८० देखि ३.२०: ९९,१२४ जना
- २.४० देखि २.८०: ४८,४७९ जना
- २.०० देखि २.४०: ४,१२६ जना
- १.६० देखि २.००: ८ जना
अवर्गीकृत र रद्द
- अवर्गीकृत परीक्षार्थी: १,६७,५९७ जना
- परीक्षा रद्द भएका: १२६ जना
प्रदेशअनुसार उच्च जीपीए (३.६० देखि ४) ल्याउनेको संख्या
- बागमती प्रदेश: २३,७८२ जना
- लुम्बिनी प्रदेश: ६,७५४ जना
- कोशी प्रदेश: ६,२५८ जना
- गण्डकी प्रदेश: ४,८९५ जना
- मधेश प्रदेश: ४,१३८ जना
- सुदूरपश्चिम प्रदेश: १,२१९ जना
- कर्णाली प्रदेश: १,१३१ जना
२०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो । यस वर्षको नतिजाबाट विद्यार्थीहरूको समग्र प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको छ । विशेषगरी उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको देखिन्छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेसँगै विद्यालय, अभिभावक र विद्यार्थीहरूमा उत्साहजनक प्रतिक्रिया देखिएको छ । शिक्षाविद्हरूले परीक्षा प्रणालीलाई अझ पारदर्शी र प्रभावकारी बनाउन सुधारको आवश्यकता औँल्याएका छन् ।