KhojSansar

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन साउन २४–२७ काठमाडौंमा हुने

Khoj Sansar News

काठमाडौं, २० साउन २०८३। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।

काठमाडौंको नयाँबजारमा बसेको तयारी बैठकले सम्मेलनको प्रारम्भिक कार्ययोजना तथा कार्यक्रमबारे छलफल गरेको हो। बैठकमा फोनिजका महासचिव समीर बलामीले सम्मेलनको अवधारणा, उद्देश्य र कार्यक्रम प्रस्तुत गर्दै विश्वका करिब ४० देशमा मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य रहेको जानकारी दिए।

सम्मेलनमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको मातृभाषा पत्रकारिताको उपलब्धिलाई प्रवर्द्धन गर्ने, विभिन्न देशका पत्रकारबीच अनुभव आदान–प्रदान गर्ने तथा मातृभाषा पत्रकारिताको सञ्जाललाई थप सुदृढ बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

त्यसैगरी सम्मेलनले भाषा, लिपि, संस्कृति, संस्कार तथा सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई पटक अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भइसकेका छन्। अघिल्ला सम्मेलनहरूमा सार्क जर्नलिस्ट फोरम र फोनिजले सहकार्य गरेका थिए।

तयारी बैठकमा नेवाः पत्रकार राष्ट्रिय दबूका नृपेन्द्रलाल श्रेष्ठ, सुनिल महर्जन, सुरेन्द्र भक्त श्रेष्ठ, केके मानन्धर, राजु नापित, प्रजित शाक्य र तेज नारायण महर्जन तथा फोनिजका लक्की चौधरी, समीर बलामी, अर्जुनबहादुर तामाङ, प्रविण श्रेष्ठ, प्रदीप लेखी, अमिर लामा, राजु राजदेव बज्राचार्य र प्रविन किराती लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.