काठमाडौँ २६ साउन २०८३, सञ्चार माध्यममा प्रकाशन भएका समाचार अनुवादले मात्रै मातृभाषाको अर्थ नबोक्ने विज्ञहरुले बताएका छन् ।
आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले सोमबार आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन – २०२६ अन्तर्गत आयोजना गरिएको ‘विश्वमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल’ विषयक छलफलमा उनीहरुले सो कुरा बताएका हुन् ।
विज्ञ डा. रघु मैनालीले मातृभाषा केवल सञ्चारको माध्यम मात्र नभइ यसबाट पुख्र्यौली ज्ञान, सीपको संरक्षण, भावना र विचार आदानप्रदान, अवसरको सिर्जना तथा सांस्कृतिक अभिव्यक्ति हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भाषा समाजको विविध चासो, अधिकारलाई सार्वजनिक बहसमा ल्याउने शक्तिशाली माध्यम रहेछ । मातृभाषा सञ्चारको माध्यम मात्रै होइन रहेछ । पहिचान, संस्कृति, स्मृति, ज्ञान, समग्रमा भन्दा सिङ्गो समुदायको आवाजसँग सम्बन्ध राख्दो रहेछ मातृभाषाले ।”
“भाषा मर्यो भने शब्द मात्रै मर्दो रहेनछ । यसमा परम्परागत ज्ञान, विवेक र सीप मर्दा रहेछन् । प्रकृतिसँगको हाम्रो लामो अन्तरक्रियाबाट हासिल गरिएका चलन, तौरतरिकाहरु मर्दा रहेछन्” उहाँले भन्नुभयो, “समुदायको गरिमा र गौरव मर्दो रहेछ । पहिचान हराउँदो रहेछ । यसलाई युनेस्कोले पनि भाषिक विविधतालाई समाज र सांस्कृतिक ज्ञानसँग जोड्नुपर्छ भनेर पटक पटक आवाज उठाएको हामीले पायौं ।”
उहाँले मातृभाषा भनेको केवल भाषामा बोल्न पाउनु मात्रै नभइ मातृभाषी नागरिकले आफ्ना जीवनका कथा, सङ्घर्ष, आकाङ्क्षाका कथा सुनाउन पाउने अवसर पत्रकारिता बन्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले जे मातृभाषाका कार्यक्रम भनिएका छन्, अनुवाद गरिएका छन् । राष्ट्रिय समाचार नेपाली भाषालाई अनुवाद गरिएको छ । यसले धेरै भाषाको अर्थ बोक्दो रहेनछ भन्ने कुरो बुझिदो रहेछ । मातृभाषामा मिडियाको म्यापिङ नै गर्न जरुरी रहेछ ।”
विज्ञ देव सुनुवारले पत्रकारिता र मातृभाषामा पत्रकारिताबिच भिन्नता रहेको औंल्याउनुभयो । मातृभाषामा पत्रकारिता गर्दा भाषा, संस्कृति लगायतका विषयमा ज्ञान हुनुपर्ने उहाँको भनाइ छ । उहाँले मातृभाषा पत्रकारिता क्षेत्रमा चुनौतीसँगै अवसर पनि रहेको धारणा राख्नुभयो ।
सञ्चारिक समूहका पूर्व अध्यक्ष समेत रहनुभएका विमला तुम्खेवाले मातृभाषामा पत्रकारिताको अवस्था परिवर्तनशील एवम् सकारात्मक रहेको बताउनुभयो । समग्रमा अवस्था निराशाजनक नरहेको उहाँको भनाइ छ । युनेस्कोका प्रतिनिधि अरुणा जोशीले मातृभाषामा पत्रकारिता प्रवद्र्धनका लागि नव पुस्तासँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । मातृभाषा पत्रकारितालाई आधुनिक, डिजिटल एवम् प्रविधिमैत्री बनाउने विषयमा युनेस्कोले पनि पहल गर्दै आएको उहाँको भनाइ छ ।
पत्रकार सन्त गाहाले एउटा भाषा निर्माण हुन सयौं वर्ष लाग्ने भन्नुहुँदै यसको सम्बर्धन गर्नुपर्ने बताउनुभयो । मातृभाषामा पत्रकारिताका सन्दर्भमा वर्तमान अवस्था र चुनौतीबारे पनि उहाँले चर्चा गर्नुभयो । यस बहसको सहजकर्ता फोनिजका पूर्व अध्यक्ष गजुरधन राईले गर्नुभएको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार पुस्कर माथेमाले ‘विश्वमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो । सम्मेलनको पहिलो दिन ‘आदिवासी जनजातिप्रति राज्यको दृष्टिकोण’ विषयमा नीतिगत बहस सम्पन्न भएको छ ।
सो बहसमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारु, आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मो, सांसदहरु निश्कल राई, सुरेन्द्र चौधरी सहभागी हुनुभएको थियो भने यसको सहजकर्ता उजिर मगर हुनुहुन्थ्यो ।