KhojSansar

हिउँदे अधिवेशनमा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पास हुन्छ : सभामुख घर्ती

Khoj Sansar News

देउखुरी दाङ, १३ कात्तिक २०८३ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा एक प्रतिशत सम्मका मातृभाषीहरुको भाषालाई सरकारी कामकाजी भाषा बनाउने बताएका छन् । भाषा आयोग र आदिवासी जनजाति मञ्च नेपाल सहित विभिन्न भाषिक तथा सामुदायिक संस्थाको संयुक्त आयोजनामा शुक्रबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताएका हुन् ।

उनले हिउँदे अधिबेशनमा विधेयक ल्याएर लुम्बिनी प्रदेशमा बोलिने अवधी, भोजपुरी, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजीको भाषा बनाउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सभामुख घर्ती मगरले मातृभाषाको संरक्षण गर्न जरुरी रहेको बताउनु हुँदै भाषा संरक्षणको दायित्व राज्यको पनि रहने बताए । हरेक काम राजनीतिक इच्छा शक्तिमा निर्भर रहने उल्लेख गर्दै उनले अहिले सभा र कार्यपालिकाको कार्यरुपमा मिलेकाले बिधेयक आउनेमा बिश्वस्त बनाए ।


‎
‎आदिबासी जनजाती मञ्चका अध्यक्ष रेशम गुरुङको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रबहादुर पुनले उत्पिडनमा परेका नागरिकहरूकाे सबै खाले हक, अधिकारका लागि तत्कालिन माओवादीले बिद्राेह गरे नेपालकाे संविधानमा भाषिक अधिकार सुनिश्चित गर्न सफल भएकाे बताए । उनले १० बर्षे जनयुद्धकाे उपलब्धि भनेकाे सबै समुदायकाे हक, अधिकार रहेकाे बताउँदै संविधानले दिएकाे अधिकारहरू अब तत्काल कार्यान्वयन गर्न आवश्यक रहेकाे बताए । साथै वन, वातावरण तथा पर्यटन मन्त्री तुलसीप्रसाद चाैधरीले सबै भाषा राष्ट्रकाे गहना भएकाेले भाषा संरक्षण गर्नु सरकारकाे दायित्व भएकाे बताए । उनले प्रदेश सरकारले विधेयक मार्फत प्रदेशभरि बाेलिने सबै खाले भाषाकाे संरक्षण गर्ने बताए । साथै मन्त्री चाैधरीले भाषा पुस्तान्तर तर्फ पनि नागरिक अगुवा लाग्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले प्रदेशमा रहेका भाषिक विविधताको संरक्षण र सरकारी कामकाजमा मातृभाषाको प्रयोग विस्तार गर्न आवश्यक पहल तथा नीतिगत व्यवस्था अनिवार्य गर्नुपर्ने बताए । कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । उनले आयोगले ७ प्रदेशमा बिभिन्न जातिका भाषालाई सरकारी कामकाजी भाषा बनाउन सिफारिस गरेको जानकारी दिए । सदस्य गुरुङले बजेटको अभावमा ऎन मार्फत बनेको सरकारी कामकाजीको भाषा कार्यान्वयन हुन नसकेको बताए । उनले लुम्बिनी प्रदेशमा आदिबासी जनजाती जागरूक नहुदा भाषा सम्बन्धि ऎन बनाउन बिलम्ब भएको बताउदै आदिवासी जनजातीहरु मातृभाषाको जगेर्ना गर्न र अधिकारको लागि एकजुट हुनु पर्ने बताए । यस्तै ‎नेपाल आदिबासी जनजाति महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष जितबहादुर तरामुले संबिधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न भाषा सम्बन्धि कानुन बनाउन आवस्यक रहेको बताए ।

कार्यक्रममा अवधि भाषाका विषयमा विक्रममणि त्रिपाठी, भोजपुरी भाषाका विषयमा शिवनन्दन जैसवाल, मगर भाषाका विषयमा जीवन रोकामगर र थारू भाषाका विषयमा कुच्छड चौधरीले प्रस्तुति दिएका थिए । भाषा आयोगका सचिव डा. लोकबहादुर लोप्चनले विशेष प्रस्तुति दिँदै सरकारी कामकाजको भाषा सम्बन्धी विषयमा प्रकाश पारेका थिए । साे अवसरमा बाेल्ने बक्ताहरूले ‎लुम्बिनी प्रदेशमा बोलिने मातृभाषालाई सरकारी कामकाजको भाषाका रूपमा स्थापित गर्न पहल गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशमा बोलिने भाषा, तिनको सामाजिक तथा सांस्कृतिक महत्व र सरकारी कामकाजमा प्रयोगको आवश्यकताबारे छलफल गरिएको थियो । कार्यक्रममा मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने कानुनी तथा नीतिगत आधार तयार गर्न प्रदेश सरकार र प्रदेश सभाले सक्रिय भूमिका खेल्नु पर्नेमा जोड दिइएको थियो । प्रदेशको भाषिक विविधताको संरक्षण, मातृभाषाको प्रवद्र्धन र नागरिकलाई आफ्नै भाषामा सरकारी सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले प्रदेशका सांसद तथा सरोकारवालासँग अन्तरक्रिया गरिएको हो ।

मातृभाषा समुदायको पहिचान, संस्कृति, परम्परा र मौलिक ज्ञानको महत्वपूर्ण आधार भएको सहभागीहरूको भनाइ थियो । सरकारी कामकाजमा मातृभाषाको प्रयोगले नागरिकलाई राज्यका निकायसँग सहज रूपमा संवाद गर्न, सरकारी सेवा तथा सूचना बुझ्न र सार्वजनिक निर्णय प्रक्रियामा सहभागी हुन मद्दत पुग्ने उनीहरूले बताएका थिए । कार्यक्रममा प्रदेशका विभिन्न भाषिक समुदायका प्रतिनिधि, सांसद तथा सरोकारवालाहरूले भाषाको संवैधानिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । भाषा आयोग, आदिवासी जनजाति मञ्च नेपाल, नेपाल मगर संघ, थारू कल्याणकारिणी सभा, अवधी सांस्कृतिक विकास परिषद्, भिन्नहरा सामाजिक संस्था तथा आदिवासी जनजाति महासंघ (नेफिन) को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सामाजिक विकास समितीका सभापति यमबहादुर परियार, वन तथा वातावरण समितीका सभापति, शहरी, खानेपानी, उर्जा तथा सिचाई मन्त्री सन्ताेषकुमार पाण्डेय र कृषि, भूमि तथा सहकारी मन्त्री कृष्णीकुमारी चाैधरीकाे विशेष उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन आदिबासी जनजाती मञ्चका जगत बरालले गरेका थिए ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.