गुल्मी, २६ साउन । ३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदले काठमाडौंको मित्रनगरस्थित केन्द्रीय कार्यालयमा “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न आदिवासी जनजातीय संघ–संस्थाका शीर्ष प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा आदिवासी जनजातिको अधिकार, पहिचान र परम्परागत ज्ञानको संरक्षणका विषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले जल, जमिन र जंगलमा आदिवासी जनजातिका परम्परागत हकबाट वञ्चित गरिएको विषयमा चिन्ता व्यक्त गर्दै संविधानमा सुनिश्चित अधिकारहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औंल्याए। उनले महासंघ जनजातिको अधिकार र पहिचानको रक्षामा सदैव अग्रसर रहेको उल्लेख गर्दै व्यवहारिक प्रत्याभूतिका लागि राज्यसँग निरन्तर पहल भइरहेको जानकारी दिएका थिए ।
विभिन्न जनजातीय सहकर्मी संघ–संस्थाका प्रतिनिधिहरूले विश्व आदिवासी दिवसको अवसरमा आफ्नो शुभकामना मन्तव्य राख्दै आदिवासी जनजातिको सवालमा साझा अभियानमार्फत एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए। उनीहरूले सबै संघ–संस्थाबीच समन्वय, सहकार्य र ऐक्यबद्धताको आवश्यकता औंल्याउँदै हक, पहिचान, संस्कृति, भाषा र परम्परागत ज्ञानको संरक्षणमा जोड दिएका थिए ।
कार्यक्रममा पवित्र बज्राचार्य (नेवा: देय दबु), शान्ति देवान (किराँत यायोक्खा छुम्मा), सर्वधन राई (किराँत राई यायोक्खा), निरन्ती तुम्वणे (किराँत याक्थुम्बा चुम्लुङ), हरिचन्द्र छन्त्याल (छन्त्याल संघ), गंगा बहादुर थापा मगर (नेपाल मगर संघ), भद्रकुमारी बराम (नेपाल बराम संघ), सुमन चौधरी (थारु कल्याणकारी सभा) र अमृत सुनुवार (सुनुवार सेवा समाज) लगायतका प्रमुख प्रतिनिधिहरूको सहभागिता उल्लेखनीय रह्यो ।
कार्यक्रमको विशेष सन्देश “प्राकृतिक स्रोत जल, जमिन र जंगल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्र संघको UNDRIP/ ILO 169 कार्यान्वयन गर” भन्ने मूल नारामा केन्द्रित थियो । सहभागीहरूले सर्वोच्च अदालतको निर्देशात्मक आदेशलाई तत्काल लागू गर्न माग गर्दै आदिवासी जनजातिको अधिकारका सवाललाई राष्ट्रिय एजेन्डाको रूपमा अघि बढाउन सबै तहमा दबाब सिर्जना गर्ने प्रतिवद्धता जनाए ।