काठमाडौँ, १ मङ्सिरः नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो ।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न आग्रह गर्नुभएको हो । प्रहरीले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेलस्थलको बाहिर भीड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंँ गोर्खाज भिड्दैछन् । र्कीतिपुरस्थित अन्तरराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल साँझ ४ बजे सुरु हुनेछ । पहिलो संस्करणको खेलमा जनकपुरले काठमाडौँलाई सहजै हराएको थियो । यस पट्क पनि जनकपुरले काठमाडौँलाई हराउने उद्देश्यका साथ मैदानमा उत्रनेछ । त्यसो त काठमाडौँ पनि अघिल्लो संस्करणको हारको बदला लिँदै जित हासिल गर्न चाहन्छ ।
यस्तै पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु दासानायकेको नेतृत्वमा रहेको जनकपुर यस संस्करणमा वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको प्रशिक्षणमा मैदानमा उत्रिँदैछ
दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल जनकपुरले प्रतियोगिताका निम्ति भित्रयाएका चर्चित नाम हुन् । यी दुवैले अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् । यस्तै, पहिला संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ ।
यसबाहेक, सञ्जय कृष्णमुर्ती (अमेरिका) र निकोल लोफ्टी इटोन (नामिबिया) हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य दुई नाम हुन् । यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसमको साथ पाएको जनकपुरमा यसपटक भने उनको उपस्थिति रहने छैन ।
त्यसैगरी काठमाडौँले भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ । मोन्टी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत हुन । आसन्न एनपिएलमा काठमाडौँ विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो । टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो ।
त्यसपछि काठमाडौँले स्कटल्यान्डका जेरहार्ड इरस्मससँग सम्झौता नवीकरण गरेको थियो । अमेरिकी अलराउन्डर मिलिन्ड कुमार, भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेल र इङ्ल्यान्डका खेलाडीद्धय बेन चाल्र्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन् ।
काठमाडौँले मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ । यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई भित्रयाइएको थियो ।
दोस्रो संस्करण्को जनकपुरको टोलीमा मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, जान निकोल लोफ्टी इटोन, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, इम्रान ताहिर, तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास अग्री, सचिन भट्टलाई, लाहिरु मिलन्था, वायने पार्ने र सञ्जय कृष्णमुर्ती छ्न
त्यस्तै काठमाडौँ गोर्खाजमा मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार,मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल छन ।