KhojSansar

पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध

Khoj Sansar News

काठमाडौँ, साउन २० गते । अविरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण बुधबार देशका विभिन्न जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी मुख्यालयका अनुसार काठमाडौँको नागर्जुन नगरपालिका–५ स्थित दहचोक क्षेत्रमा पहिरो खसेपछि त्रिभुवन राजपथको सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुरको षडानन्द नगरपालिका–५ भीरगाउँमा बाढीका कारण मध्यपहाडी लोकमार्गमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। यस्तै, इलामको चुलाचुली गाउँपालिका–६ बान्सबोटेमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–भोक्सीखोला–भकुण्डेबेँसी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले बीपी राजमार्गमा बिहान १० देखि साँझ ५ बजेसम्म दैनिक रूपमा पूर्ण रूपमा यातायात बन्द गरिएको छ। वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी–भैँसे सडकखण्डमा कान्ति लोकपथ मर्मतका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म दैनिक रूपमा सवारी आवागमन रोकिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.