KhojSansar

राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

khojsansar

काठमाडौँ, २५ साउन २०८३, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुका साथै आवश्यक ऐन निर्माण प्रक्रिया अघि बढाउन जोड दिइएको छ ।

समितिको आजको बैठकमा सदस्यहरूले सरकारले राष्ट्रिय सदाचार नीति ल्याएकोमा धन्यवाद दिँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारको इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो । उहाँहरूले सदाचारलाई शासन प्रणालीमा मात्र सीमित नगरी नागरिकको दैनिक जीवन र व्यवहारसँग जोड्नुपर्ने तथा विद्यालय तहदेखि सदाचारसम्बन्धी शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।

समितिका सदस्य उर्मिला अर्यालले भन्नुभयो, “समितिले यसका लागि धेरै मेहनत गरेको छ । अब कार्यान्वयनका लागि सजगताका साथ खबरदारीसँगै सरकारसँग गर्छौँ । यसको मुख्य जिम्मेवारी अब सरकारको हो ।” समितिका सदस्य कमला पन्तले भन्नुभयो, “सदाचारिता जीवनपद्धति हो । यसलाई पाठ्यक्रममा कसरी ल्याउने भन्नेबारे योजना बनाउनु जरुरी छ । नागरिकको कमजोरी औँल्याउन सक्ने गरी समाज विकासमा सदाचारिता अनिवार्य छ ।”

सदस्य जगत तिमिल्सिनाले सदाचारलाई पाठ्यक्रममा समावेश गरी कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । सदस्य घनश्याम रिजालले आदर्श जीवन र स्वनियमनको विकासका लागि विद्यालयस्तरबाट सदाचारसम्बन्धी शिक्षा दिनुपर्ने बताउनुभयो । सदस्य तुलप्रसाद विश्वकर्माले नीति कार्यान्वयनमा सरकारको इच्छाशक्ति महत्वपूर्ण हुने भन्दै तदारुकता देखाउन आग्रह गर्नुभयो । 

सदस्य सावित्री मल्लले सरकारले नीति ल्याउनु सकारात्मक कदम भएको बताउँदै अब आवश्यक ऐन निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सदस्य सम्झना देवकोटाले सदाचार नीति कार्यान्वयनका लागि ठूलो बजेटभन्दा इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो । 

सदस्य वासुदेव घिमिरेले सरकारलाई धन्यवाद दिँदै नीति कार्यान्वयनमा सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गर्नुभयो । सदस्य महन्थ ठाकुरले सदाचार व्यक्तिको सोच र व्यवहारसँग सम्बन्धित विषय भएको बताउँदै समाजमा अराजकता बढ्न नदिन सदाचार नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

बैठकमा सदस्यहरूले नीति कार्यान्वयनका लागि अतिरिक्त बजेटभन्दा सरकारी निकायको प्रतिबद्धता र नियमित अनुगमन आवश्यक रहेको धारणा राख्नुभयो । यसैबीच राष्ट्रिय सतर्कता केन्द्रले भने नीतिले केन्द्रलाई थप जिम्मेवारी दिएको भन्दै यसका लागि बजेटको चुनौती रहेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवले नीतिको कार्यान्वयनका लागि तीनै तहका सरकारलाई कार्ययोजना बनाउन निर्देशन भइसकेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क बिन्दु तोकिएको र सबै निकायमा फोकल पर्सन ९स्रोतव्यक्ति० तोक्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

सबै मन्त्रालयलाई यही महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न निर्देशन दिइएको उल्लेख गर्दै सचिव यादवले त्यसको प्रगति सचिवस्तरीय बैठकमा प्रस्तुत गरिने जानकारी दिनुभयो । राष्ट्रिय सतर्कता केन्द्रलाई नीति कार्यान्वयनको जिम्मेवार निकाय (फोकल एजेन्सी)का रूपमा तोकिएको उल्लेख गर्दै उहाँले केन्द्रले नियमित अनुगमन गर्ने र कार्यसम्पादनको मूल्याङ्कलनसमेत डिजिटल माध्यमबाट गर्ने तयारी भइरहेको बताउनुभयो ।

राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव नारायणप्रसाद भट्टले राष्ट्रिय सदाचार नीतिले केन्द्रलाई अनुगमन, सहजीकरण, सदाचार प्रवर्द्धन, समन्वय तथा विभिन्न निकायसँग सहकार्यलगायत महत्वपूर्ण जिम्मेवारी दिएको बताउनुभयो । उहाँका अनुसार नीतिको कार्ययोजनाअन्तर्गत राष्ट्रिय सतर्कता केन्द्रलाई १४ वटा मुख्य क्रियाकलापको जिम्मेवारी दिइएको छ । तीमध्ये १२ वटा केन्द्रले एकल रूपमा र दुई वटा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा कार्यान्वयन गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । 

यसअघि वार्षिक बजेट स्वीकृत भइसकेकाले केन्द्रसँग नीतिका लागि छुट्टै बजेट नरहेको सहसचिव भट्टले बताउनुभयो । उपलब्ध बजेटबाट कम लागतमा गर्न सकिने कार्यक्रम अघि बढाउने र आवश्यक थप बजेटका लागि प्रस्ताव गर्ने तयारी भइरहेको उहाँले समितिलाई जानकारी दिनुभयो । 

उहाँले यथाशीघ्र विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने बताउँदै नीतिले तोकेको समय सीमाभित्र केन्द्रको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस 

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.