KhojSansar

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

Khoj Sansar News

रसुवा, २१ साउनः जनैपूर्णिमा पर्वका अवसरमा पवित्र धार्मिक तीर्थ गोसाइँकुण्ड पुग्ने भक्तजनको प्राथमिक उपचारका लागि हिमालय उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालयन गरेको छ । सङ्घका कार्यकारी निर्देशक गोविन्द बस्यालका अनुसार आफ्नो संस्थाको तर्फबाट अक्सिजनसहित विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्डको किनारमा शिविर सञ्चालन गरिरहेका छन् ।

हालसम्म ११० जनाको प्राथमिक उपचार गरिसकिएको उहाँले जनाकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य टोलीमा डा पदम जोशीको नेतृत्वमा छ जना विशेषज्ञ चिकित्सक एवं एक जना स्वास्थ्य प्राविधिक सहजकर्ता रहेका छन् । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा श्वासप्रश्वासमा कमी भएर आएका बिरामीलाई अक्सिजन लगाएर उपचार सेवा दिइएको निर्देशक बस्यालले जानकारी दिनुभयो ।

विगत २५ वर्ष अघिदेखि गोसाइँकुण्डका धार्मिक यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको उक्त संस्थाले यही साउनको मङ्गलबारदेखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो । सो संस्थाले शिविरमार्फत भक्तजनको स्वास्थ्य उपचारमा सहयोग गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

आफूहरूसँग आवश्यक सबै प्रकारका औषधि र अक्सिजन रहेकाले बिरामी पर्ने यात्रुले नआत्तिकन गोसाइँकुण्डमा सङ्घले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सम्पर्क राख्न समस्त यात्रुसमक्ष अनुरोध गरिएको शिविरका टोली प्रमुख डा जोशीले बताउनुभयो । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.