KhojSansar

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

Khoj Sansar News

रौतहट, ९ भदौ : सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले ईशनाथ नगरपालिका–४ मठियास्थित रामसिंह चनौको भट्टी पसल नजिकैबाट सो परिमाणको सूर्तीजन्य पदार्थ आज बरामद गरेको जानकारी दिनुभयो । ‘

‘सशस्त्र प्रहरी प्रमुख बस्नेत र ‘बोर्डरआउटपोष्ट’ औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमरोज जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले सीमास्थित दशगजा क्षेत्रदेखि करिब दुई सय मिटर पूर्वतर्फ रामसिंह चनौको भट्टी पसलको छेउ र चुमन मियाँको धान खेतमा अबैध रुपमा भण्डारण गरी लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको ३० बोरा सुर्तीजन्य पदार्थ गौर भन्सार कार्यालयमा बुझाइएको छ ।” उहाँले भन्नुभयो । सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१÷८२ मा रु पाँच करोड ७४ लाख दुई हजार छ सय ९९ मूल्य पर्ने भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, औरैया, बन्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर सुर्तीजन्यसहित विभिन्न किसिमका लागूपदार्थ, लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौला खालका हातहतियार, पटकालगायतका अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी सीमापार भएर सुरक्षित हुनखोज्ने गैह्रकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रण गर्न सशस्त्र प्रहरी वल केन्द्रित रहेको प्रमुख बस्नेतले स्पष्ट गर्नुभयो ।

रौतहटका सशस्त्र प्रहरी प्रमुख बस्नेतका अनुसार जिल्लास्थित स्थानीय निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण जनतासमेतको साथ–सहयोग र समन्वयमा सीमा तथा भन्सार क्षेत्रमा हुनसक्ने अवैधकारोबारसहित गैह्रकानुनी गतिविधि न्यूनीकरण तथा नियन्त्रण गर्ने सन्दर्भमा उल्लेख्य सफलता प्राप्त भएको छ । रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.