KhojSansar

कोप–३० मा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता, जलवायु न्यायका लागि आह्वान

कोप–३० मा कृषिमन्त्रीको नेतृत्वमा सहभागिता, जलवायु न्यायका लागि आह्वान Khoj Sansar News

काठमाडौँ, २ मङ्सिरः जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा नेपालले साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि आह्वान गरेको छ ।    
    
 ब्राजिलको बेलेममा जारी सम्मेलनमा नेपालले सबै राष्ट्रहरूको राष्ट्रिय निर्धारित योगदान (एनडिसी) प्रतिवेदन पेस गर्ने, अभिसन्धिबाट भएका दायित्व पूरा गर्ने र जलवायु न्यायसम्बन्धी अन्तरराष्ट्रिय न्यायालयको परामर्शात्मक रायलाई सम्मान गर्ने कर्तव्यको बोधसमेत गराएको छ ।    
    
 सम्मेलनअन्तर्गत आइतबारको मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले विकसित राष्ट्रहरूले विगतमा गरेका जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले १.५ ‘डिग्री सेल्सियस’को लक्ष्य साकार पार्न उदाउँदो अर्थतन्त्रसहित सबै पक्षले रचनात्मक रूपमा संलग्न हुनुपर्नेमा जोड दिनुभएको वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिनुभयो ।    
    
 यसै प्रसङ्गमा मन्त्री परियारले गत जेठमा काठमाडौँमा सम्पन्न सगरमाथा संवादको सन्दर्भ स्मरण गराउँदै युएनएफसिसिसी प्रक्रियामा हिमालसम्बन्धी एजेन्डालाई तुरुन्तै समावेश गर्र्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । यही नोभेम्बर १० तारिखमा सुरु भएर २१ तारिखसम्म चल्ने सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले जलवायु न्यायप्रति नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।    
    
 शून्य कार्बन उत्सर्जनको मार्गचित्र प्रस्तुत    
    
 हिमनदीहरुको तीव्र पग्लिने क्रम, खडेरी, असमान्य बाढी तथा कृषि क्षेत्रमा परेको प्रभावजस्ता नेपालको प्रमुख जलवायु चुनौतीहरूलाई उजागर गर्दै उहाँले नेपालको महत्वाकाङ्क्षी एनडिसी तेस्रोबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो । जसले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको मार्गचित्र प्रस्तुत गरेको छ । “विश्वका सबैभन्दा प्रकृतिसँग नजिक रहेका राष्ट्रहरूमध्ये एकका रूपमा, हाम्रो वन क्षेत्र अहिले ४६ प्रतिशतभन्दा बढी पुगेको छ,” उहाँले जोड दिनुभयो ।    
    
 सम्मेलनकै दौरान मन्त्री परियार विभिन्न कार्यक्रममा सहभागी हुँदै द्विपक्षीय तथा बहुपक्षीय तहमा सक्रिय रूपमा संलग्न रहनुभएको थियो । उहाँले ‘फसिल फ्युल ट्रिटी इनिसिएटिभ’द्वारा आयोजित कार्यक्रममा भाग लिँदै स्वच्छ ऊर्जासम्बन्धी अभ्यासहरू विस्तार गर्ने नेपालका योजनाहरू विद्युतीय सवारीसाधन तथा विद्युतीय चुल्होको प्रयोग वृद्धिका पहलहरू बारेमा जानकारी दिनुभएको थियो ।    
    
 यसैगरी मन्त्री परियार एलडिसीहरूको मन्त्रिस्तरीय बैठकमा पनि सहभागी हुनुभयो, जहाँ जलवायु परिवर्तनसम्बन्धी एलडिसी समूहको अध्यक्षता हस्तान्तरण गरिएको थियो । बैठकमा मन्त्री परियारले समूहका प्राथमिकताहरू अगाडि बढाउनमा मालावीले गरेको योगदानको प्रशंसा गर्दै, टिमोर–लेस्टेको नयाँ अध्यक्षताप्रति नेपालको ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएको थियो ।    

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.