मुक्तिनाथ (मुस्ताङ) २७ साउन २०८३, मुस्ताङमा अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी हुने क्रम बढ्दै गएको छ । उपहार, चिट्ठा तथा सस्तो मूल्यमा महँगा सामान पाइने प्रलोभनमा परी सर्वसाधारणले रकम गुमाउने गरेका छन् ।
थासाङ गाउँपालिका–३ का राकेश गौचन आकर्षक उपहारको प्रलोभनमा परी २१ हजार रुपियाँ गुमाउनुभयो । तराईमा बस्ने अजयकुमार दासलाई पठाएको उक्त रकम अहिलेसम्म फिर्ता भएको छैन ।
थासाङ गाउँपालिका–५, ताक्लुङका अजय विकले सस्तो मूल्यमा विद्युतीय स्कुटर खरिद गर्ने भन्दै प्रतिमकुमार सिंहलाई आठ हजार पाँच सय रुपियाँ पठाउनुभयो । यस्तै, बागलुङको निसीखोला गाउँपालिका–३, बुर्तिबाङ घर भई हाल मुस्ताङमा बस्दै आएका विवश चौधरी आइफोन उपहार परेको भन्दै पाँच हजार रुपियाँ भन्सार शुल्क पठाएपछि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा निवेदन दिनुभएको छ । उपहारका लागि उहाँलाई ५० हजार रुपियाँ पठाउनुपर्ने भनिएको थियो ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा अनलाइन ठगीसम्बन्धी तीन वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा सामाजिक सञ्जाल, बैङ्किङ कारोबार, अनलाइन सपिङ तथा पेमेन्ट, चिट्ठा, स्क्याम र विभिन्न अनलाइन गेमका नाममा ३२ जना ठगीमा परी १० लाख रुपियाँभन्दा बढी गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई वटा र आर्थिक वर्ष २०८१/८२ मा २१ वटा अनलाइन ठगीसम्बन्धी उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।
प्रहरी निरीक्षक बस्यालले डिजिटल माध्यमबाट ठगिनेमा शिक्षित व्यक्तिसमेत रहेको बताउनुभयो । “डिजिटल माध्यमबाट ठगिनेमा शिक्षितसमेत छन् । थोरै मूल्यमा महँगो सामान पाइने तथा उपहार पाउने प्रलोभनमा फसेको देखिन्छ,” उहाँले भन्नुभयो ।
गत आर्थिक वर्षमा परेका उजुरीका आधारमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालसँगै विभिन्न माध्यमबाट चिट्ठा परेको भन्दै ठगी गर्ने घटना धेरै रहेको प्रहरीले जनाएको छ । फेसबुक अकाउन्ट ह्याक, अनलाइनबाट सामान खरिद, मार्केटिङ, सपिङ, वैदेशिक रोजगारी, चिट्ठा परेको भन्दै ठगी गर्ने तथा ओटीपी कोड प्रयोग गरी बैङ्क खाताबाट रकम निकाल्नेलगायतका उजुरी प्रहरीमा दर्ता भएका छन् । अनलाइन ठगीमा उपल्लो मुस्ताङ तथा चीनको तिब्बतसँग जोडिएका सीमावर्ती बस्तीका बासिन्दासमेत पर्ने गरेका छन् ।
व्यक्तिगत रूपमा ठगिएका धेरैले परिवारका सदस्यबाट गाली खाने वा समाजमा बदनाम हुने डरले घटना लुकाउने गरेका कारण जिल्लामा डिजिटल माध्यमबाट ठगिनेको वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने प्रहरीको अनुमान छ ।
फेसबुक, भाइबर, ह्वाट्सएप र म्यासेन्जरमार्फत विभिन्न बहाना बनाएर रकम ठगी गर्ने मात्र नभई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी बन्ने र कुराकानीका क्रममा नग्न तथा अश्लील तस्बिर तयार गरी रकम असुल्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ । यस्ता घटनासमेत समाजमा बदनाम हुने डरले पीडितले गुपचुप राख्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले कसैले चिट्ठा परेको वा उपहार प्राप्त भएको भन्दै सन्देश पठाएमा तत्काल विश्वास नगर्न तथा आवश्यक परे सामाजिक सञ्जालमै सार्वजनिक वा प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । यसबाट सम्भावित ठगीबाट बच्न सकिने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीले सचेतनामूलक अभियानमार्फत फोन तथा सामाजिक सञ्जालबाट मागेकै आधारमा मोबाइल एपको लगइन र पासवर्ड, खाता नम्बर, ओटीपी कोडलगायत कुनै पनि बैङ्किङ विवरण नदिनसमेत सर्वसाधारणलाई अनुरोध गर्दै आएको छ । -हरिकृष्ण शर्मा