काठमाडौँ, १८ कात्तिक २०८३ । नेपालको पर्वतीय उड्डयन क्षेत्रमा मङ्गलबार बिहान दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा डायनेस्टी एयर र फिस्टेल एयरका हेलिकोप्टर आपसमा ठोक्किएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको दुर्घटनाको भिडियोले हेलिकोप्टर सञ्चालनको सुरक्षाव्यवस्था, पाइलटबिचको समन्वय, मापदण्ड अनुसारका हेलिप्याड, प्राधिकरणको नियामकीय जिम्मेवारी तथा राज्यको उपस्थिति र निगरानीमाथि प्रश्न उठाएको छ ।
सार्वजनिक भिडियोमा अवतरणका क्रममा एउटा हेलिकोप्टर तीव्र गतिमा तल झर्दै गरेको र मार्सलर (जमिनबाट हेलिकोप्टरलाई अवतरण तथा दिशानिर्देश गर्ने व्यक्ति) ले अर्को हेलिकोप्टरसँग नजिकिँदै गएकाले टाढा जान निर्देशन दिए पनि चालकदलले उक्त सङ्केतको निर्देशन अवज्ञा गरेको देखिन्छ । त्यसपछि दुवै हेलिकोप्टरका पङ्खा आपसमा ठोक्किएर दुर्घटना भएपछि घटनाको दृश्यले हेलिकोप्टर अवतरणको अन्तिम क्षणमा पाइलटबिच समन्वय अभाव, हतारमा गरिएको अवतरण, हेलिप्याड सञ्चालन र उडान व्यवस्थापनमाथि प्रश्न उठाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपाय अवलम्बन गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुर्घटनामा मानवीय क्षति र भौतिक क्षति भइसकेको छ । उपकरणमा हुने खराबी, वातावरण र मानवीय त्रुटिका कारण दुर्घटना हुन सक्ने भएकाले कसको कमजोरीका कारण दुर्घटना भयो भन्नेबारे अनुमानका भरमा भन्न सकिँदैन । चालकबिचको सञ्चार समन्वय, हेलिप्याडको अवस्था, उडान सञ्चालन प्रक्रिया, प्राधिकरणको निगरानीलगायतका विषय अनुसन्धानले प्रस्ट पार्ने छ ।”
फेरिचे क्षेत्र लुक्ला विमानस्थलको हवाई यातायात नियन्त्रण टावरको प्रत्यक्ष निगरानी क्षेत्रबाहिर पर्ने भएकाले त्यहाँ हेलिकोप्टर चालकले आपसमा सञ्चार गरेर उडान व्यवस्थापन गर्नुपर्ने हुन्छ तर उक्त समयमा चालकदलबिच सञ्चार समन्वय भएको थियो वा थिएन भन्नेबारे घाइते पाइलटको बयान, हेलिकोप्टरको उडान अभिलेख, सञ्चार विवरणबारेको अनुसन्धानले दुर्घटनाको वास्तविक कारण पत्ता लाग्ने जानकारी उहाँले दिनुभयो ।
दुई वटै हेलिकोप्टर एउटै हेलिप्याडमा अवतरण गर्ने क्रममा नभई एकै क्षेत्रमा अवतरण भइरहेको र उनीहरूको अवतरण समय, दिशा एउटै रहेको देखिएको छ । दुर्घटनामा परेको डायनेस्टी एयरको हेलिकोप्टर कार्गो उडानमार्फत लुक्लाबाट र फिस्टेल एयरको हेलिकोप्टर गोरक्षेपबाट यात्रु लिएर फेरिचे पुगेको थियो ।
बहसमा पर्वतीय उड्डयनको सुरक्षा
नेपालको हिमाली क्षेत्रमा हेलिकोप्टर पर्यटन, उद्धार, सामान ढुवानी र यात्रु आवागमनका लागि महत्वपूर्ण साधन हो । सडक पहुँच नभएका क्षेत्रमा हेलिकोप्टरले पर्यटक तथा पदयात्रीलाई सेवा दिँदै आएको छ । पर्वतीय क्षेत्रमा मौसम, उचाइ, सीमित हेलिप्याड र उडानको चापका कारण भने सुरक्षा व्यवस्थापन थप चुनौतीपूर्ण हुँदै आएको छ ।
यसअघि सन् २०२३ मा सोलुखुम्बुको लामाजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा पाँच मेक्सिकन पर्यटक र नेपाली पाइलटसहित छ जनाको मृत्यु भएको थियो । त्यसपछि पनि पर्वतीय उड्डयनको सुरक्षाव्यवस्था प्रभावकारी बनाउने विषय निरन्तर उठ्दै आए पनि हेलिकोप्टरको उडान सङ्ख्या, हेलिप्याडको व्यवस्थापन र पाइलटबिचको समन्वयलाई पुनः परीक्षण गर्नुपर्ने आवश्यकता देखाएको छ ।
प्राधिकरणको उड्डयन सुरक्षा प्रतिवेदन, २०२५ अनुसार विसं २०३६ पुस १२ देखि विसं २०८१ साउन १३ सम्म नेपालमा सानाठुला गरी ४१ वटा हेलिकोप्टर दुर्घटनामा परेका छन् । उक्त दुर्घटनामा स्वदेशी र विदेशी गरी ९८ जनाले ज्यान गुमाएका छन् ।
सरकारद्वारा अनुसन्धान सुरु
सरकारले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्घटनाबारे विस्तृत अध्ययन तथा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली आकाशलाई सुरक्षित बनाउन हवाई सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा नियमनलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै दुर्घटनाको यथार्थ परिस्थिति र प्राविधिक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको र प्राप्त निष्कर्ष तथा सिफारिसका आधारमा आवश्यक सुधारात्मक कदम चालिने स्पष्ट पारेको छ । -मीनराज भण्डारी