कास्की — पाहुना टोली इरानको इरानी भलिबल टिम र विभागीय टोली नेपाल पुलिस क्लब प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको सेमिफाइनल जित्दै दुई टोलीले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा इरानी टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौंथो सेट जित्यो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौंथो सेट २६–२४ ले जितेको हो । इरानी टोलीले चौंथो सेटमा १८–२१ को अग्रता उल्टाउँदै इरानी टोलीले २६–२४ को जित निकाल्यो ।
दोस्रो सेमिफाइनलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–० को सोझो सेटमा पराजित गर्यो । पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ ले जितेको हो ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रतियोगिताको फाइनल सोमबार दिउँसो ४ बजे हुनेछ । फाइनलअघि दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रोले १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्टले जनही ८ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् ।