KhojSansar

स्याङ्जामा ‘अन्त्य’ लघुकथा कृति विमर्श तथा वाचन समारोह भव्य रूपमा सम्पन्न

Khoj Sansar News laghu katha shyangja

स्याङ्जा, २८ असार । लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह-२०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान – २०७६ स्याङ्जाको ३४ औँ पाइलाको रुपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा कृति विमर्श एवम् एकल लघुकथा वाचन समारोह शनिबार दिउँसो वालिङ–६, मिर्मीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार लक्ष्मी रेमी खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो । विमर्शको निष्कर्षमा वक्ताहरूले नवोदित नारी स्रष्टाको लघुकथा लेखन सशक्त भएको र आगामी दिनमा अझै सशक्त भएर आउने बलियो सम्भावना रहेको एवं लघुकथाको भविष्य राम्रो रहेको बताउनु भयो । कार्यक्रम कृतिमाथि नै केन्द्रीकृत भएर प्यानल डिस्कसन अर्थात् समुहगत छलफलको मोडलमा गरिएको थियोे । 

पुतलीबजार–१३ स्याङ्जामा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी रेमी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गरेकी लक्ष्मीको `अन्त्य´ लघुकथा कृति पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरुमा पुरस्कृत भइसकेकी छिन् ।

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि मिलन समीरद्वारा संयोजन गरिएको थियो ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरु सरस्वती अर्याल, गुरु ढकाल, भविष्य पण्डित, खगेन्द्रजंग थापा, शोभाकान्त रेमी, विष्णु पण्डेनी पाण्डे, डि.बी. राना, स्मारिका अर्याल, पारिक्षर न्यौपाने, राजु गैरे, वसन्त खनाल, सूर्यांश अर्याल र धनबहादुर शर्मा एवम् विशेषातिथिहरुका सहभागिता रहेको थियो ।

स्याङ्जामा पहिलो पटक आयोजित एकल लघुकथा वाचन र विमर्श कार्यक्रमले यस क्षेत्रका साहित्यिक स्रष्टाहरूमा सिर्जनशीलता र आत्मविश्वास थप्ने प्रेरणा प्रदान गरेको देखिन्छ। युवा पुस्ताकी स्रष्टा लक्ष्मी रेमी खनालको ‘अन्त्य’ कृतिमार्फत लघुकथा विधामा नारी लेखनको भविष्य अझ उज्यालो देखिएको सहभागी स्रष्टाहरूको साझा धारणा रह्यो ।

सम्बन्धित समाचारः

  • सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.