१ महिना अगाडि
१ महिना अगाडि
काठमाडौँ २६ साउन २०८३, अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, झाडापखाला, फुड पोइजनिङ, हैजा लगायत पेटसम्बन्धी रोगको जोखिम बढ्ने भएकाले ताजा, झोलिलो र पोषिलो खानेकुरा खान चिकित्सकको सुझाव छ । जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले गर्मी मौसममा स्वास्थ्य जोगाउन पर्याप्त पानी र झोलिलो पदार्थ पिउनुका साथै ताजा र स्वच्छ खानेकुरा खानुपर्ने बताउनुभयो। उहाँका अनुसार गर्मीका कारण अत्यधिक पसिना बग्दा शरीरमा पानीको मात्र कमी हुन सक्छ। समयमै पानीको पूर्ति नभए बेहोस हुनेदेखि लु लाग्ने जोखिम हुने उहाँको भनाइ छ। विशेषगरी तराईका जिल्लामा गर्मी बढी हुने भएकाले दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन र प्रशस्त तरल पदार्थ सेवन गर्न उहाँले आग्रह गर्नुभयो। डा.उप्रेतीका अनुसार गर्मीमा धेरै समयसम्म राखिएको, बासी तथा झिङ्गा भन्किएको खानेकुरा खानुहुँदैन। यस्ता खानेकुरामा जीवाणु बढ्ने सम्भावना बढी हुने भएकाले फुड पोइजनिङ, झाडापखाला र हैजाजस्ता रोग लाग्न सक्छन्। विशेषगरी खुला स्थानमा बिक्री हुने चाट, पानीपुरी तथा अन्य खुला खानेकुरा स्वादका लागि सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उहाँले चेतावनी दिनुभयो। भोजभतेरमा धेरै समयअघि पकाइएका खानेकुरा लामो समयसम्म राखेर खाँदा पनि स्वास्थ्य जोखिम बढ्ने भएकाले सकेसम्म ताजा पकाएको खाना मात्रै खान उहाँले सुझाव दिनुभयो। गर्मी मौसममा शरीरमा पानीको सन्तुलन कायम राख्न मौसमी फलफूल, काक्रो, दही, मही, नरिवलको पानी, सत्तु, ओट्स, लस्सी, पुदिनायुक्त पानी तथा कागती मिसाएको पानी वा चिया उपयोगी हुने…