काठमाडौँ, ६ भदौः ‘झर्यो भुँइमा टोपी हजुर निउरिदा शिर..., कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत केवल गीत मात्रै थिएन । कलाकार रतन देवकोटाले गाएको यस गीतले कर्णालीका दुःख, पीडा, सङ्घर्ष र सफलताका भावनालाई बोलिरहेको थियो । हुड्केउली भाकामा पस्किएको गीतमा भोक, विदेशीयका व्यथा र बसाइँसराइका कथा गुँथिएका छन् । प्रेक्षालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्ति र खचाखच भरिएका दर्शकलाई कर्णालीका गाथा, व्यवस्था र विकास सम्भावना र उपलब्धि समेटिएका विविध प्रस्तुतिले मोहित तुल्यायो । सिस्नो पानी नेपालले बिहीबार प्रस्तुत गरेको ‘कर्णाली जुरुक्क’ ले सहभागीको ध्यानमात्रै खिचेन कर्णालीका दुःख, भोगाइ र पीडासँगै बेदनाका आँसु बगायो । त्यहाँका लागि गरिनुपर्ने जिम्मेवारीको आत्मबोध पनि गराएको आभाष भइरहेको थियो । साँच्चिकै जब कर्णालीको नाम आउँछ, त्यहाँ अभाव र पीडा छचल्किन्छ । भोक, अभाव र अत्यास त्यहाँको प्रतीक जस्तै बनेको छ । कर्णालीवासीले देशमा कैयौँ व्यवस्था बदलिए पनि त्यहाँको विम्ब बदल्न पर्याप्त प्रयास नगरिएको गुनसो गर्छन् । त्यही नबदलिएको विम्बलाई सिस्नोपानी नेपालले ‘जुरुक्क कर्णाली’ लाई सङ्घीय राजधानी काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एकपटक पुनः स्मरण गराएको छ, जसले…