KhojSansar

राष्ट्रिय कोदो दिवसः पोखरामा कोदो उत्पादक किसान सम्मानित

Khoj Sansar News

कास्की, १६ साउनः ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका पोखरामा आज राष्ट्रिय कोदो दिवस मनाइएको छ । सो अवसरमा महानगरले चार जना कोदो उत्पादक किसानलाई नगदसहित सम्मान गरेको हो ।

महानगरभित्र सबैभन्दा बढी कोदो फलाउने किसान सम्मानित भएका हुन् । लामो समयदेखि कोदोखेती गर्दै आउनुभएका चार जना किसानलाई महानगर प्रमुख धनराज आचार्यले सम्मान गर्नुभयो । सो अवसरमा कोदोजन्य बालीका परिकारको प्रदर्शनी गरिएको थियो ।

पोखरामा १२ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२१ का कर्णबहादुर थापालाई नगद रु १० हजारसहित सम्मान गरिएको छ । यसैगरी आठ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२८ की अम्बिका भण्डारी नगद रु सात हजारसहित पुरस्कृत हुनुभयो ।

करिब १० रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–२३ का सचेन गुरुङ रु पाँच हजारसहित र आठ रोपनी क्षेत्रफलमा कोदोखेती गर्ने पोखरा–१६ की बबिता गुरुङ रु तीन हजारसहित सम्मानित हुनुभयो ।

कोदोका परिकार प्रदर्शनीतर्फ करुङे कृषक समूह पोखरा–२२ प्रथम हुँदै रु १० हजार पुरस्कार प्राप्त गरेको छ । अन्नपात एग्रो प्रालि द्वितीय हुँदै रु सात हजार तथा नमूना प्राङ्गारिक कृषि सहकारी र जैविक स्रोत संरक्षण अभियान सान्त्वना हुँदै क्रमशः रु पाँच हजार र तीन हजार पुरस्कार पाएका छन् ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले परम्परागत बालीको संरक्षण तथा विकासका लागि महानगर प्रतिबद्ध रहेको बताउनुभयो । “रैथाने बाली उपेक्षित बन्दै गएको छ । लोपोन्मुख अवस्थामा पुगेका बालीहरूको संरक्षण तथा किसानलाई आकर्षित गर्ने अभियानमा महानगर छ”, उहाँले भन्नुभयो ।

परम्परागत बालीको संरक्षण, कोदोजन्य पोसिलो अन्नको प्रवर्द्धन, किसानको आम्दानी वृद्धि, कोदोखेतीप्रति किसानको आकर्षण वृद्धि गर्ने उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम गरेर मनाइएको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

कोदोखेतीको विस्तार, प्रवर्द्धन र किसानको आकर्षण बढाउन महानगरपालिकाले न्यूनतम समर्थन मूल्यसमेत उपलब्ध गराउँदै आएको कडरियाले जानकारी दिनुभयो । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.