KhojSansar

रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

Khoj Sansar News

रुकुमपूर्व, १० माघ । ​रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् ।

सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र पश्चिमका लागि छुटेका बसहरू बीच बाटोमै फसेका छन् । हिउँमा गाडीहरू फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (DSP) उमा शंकरप्रसाद यादवका अनुसार, गाडीहरू फसेको सूचना लगत्तै उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

‘इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा एउटा टोली घटनास्थलतर्फ पठाइएको छ’, डीएसपी यादवले भने, ‘अहिले पनि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ, जसका कारण उद्धार र हिउँ पन्छाउने काममा केही कठिनाइ भइरहेको छ ।’

अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग समन्वय सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले फसेका यात्रुहरूको उद्धार र सडक सुचारु गर्न भूमे गाउँपालिकासँग समन्वय गरेर जेसेबी पठाइएकाे बताए ।

​’हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने तयारी गरेका छौं, ‘ प्रजिअ परियारले भने, ‘निरन्तर हिमपात भइरहेकाले हिउँ पन्छाउन केही समय लाग्न सक्छ । तर, हामी यात्रुको सुरक्षित उद्धारमा जुटेका छौं ।’ ​अहिले रुकुमपूर्वका उच्च हिमाली भेगहरूमा जनजीवन प्रभावित भएको छ ।

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.