बुटवल, २ जेठ २०८३ । डीजीएम नेपाल परियोजना अन्तर्गत गैर काष्ठजन्य वन पैदावारमा आधारित साना व्यावसाय सञ्चालनका लागि प्रस्तावना सम्बन्धी प्रशिक्षण तथा कार्यशाला बुटवलमा आयोजना गरिएको छ । आदिवासी जनजाति र स्थानीय समुदायमा समर्पित अनुदान परियोजनाले आदिवासी जनजाति केन्द्रीत तेश्रो पूर्ण प्रस्तावना लेखनका लागि शुक्रबार बुटवलमा कार्यशालाको आयोजना गरेको हो । सो अवसरमा नेपाल ग्रामिण पूनर्निर्माण संस्थाका अपरेशन म्यानेजर डाक्टर गिरी पन्थीले सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो । उहाँले समग्र परियोजना तथा अनुदान प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया र विषयमाथि प्रकास पार्नुभएको थियो । डाक्टर पन्थीले अनुदानमा सञ्चालन गरिने प्रस्तावित उद्यम परियोजनाका सोट एनालाइसिस, बजार रणनीति, प्रस्तावको बित्तिय विश्लेषण, परियोजना कार्यान्वयन कार्ययोजना, व्यवस्थापकीय विवरण, सामुदायिक लाभ, बजेट लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

सहभागीहरुलाई डीजीएम नेपालका निक्की श्रेष्ठले समेत परियोजनाका अनुदान प्राप्तिका लागि आवश्यक विषयमा प्रष्ट पार्नुभएको थियो । सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिका उपाध्यक्ष अमृत सुनुवारले आदिवासी जनजाति समुदाय जल र जमिनमा आश्रित हुनेभएकाले आदिवासी जनजाति र स्थानीय समुदायको समृद्धिका लागि दिगो वन व्यवस्थापनको अवधारणा महत्वपूर्ण रहेकाले स्थानीय वनपैदावारमा आधारित उद्यम सञ्चालनका लागि प्रस्ताव पेश गरेर आर्थिक समृद्धिका लागि अगाडि बढ्न आह्वान गर्नुभएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव बिमल सारुमगर, नेपाल आदिवासी जनजाति युवामहासंघका केन्द्रीय अध्यक्ष किरण श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यशालामा नेपाल आदिवासी जनजाति महासंघ लुम्विनी प्रदेश, विभिन्न एकल जातीय संगठनहरु, आदिवासी जनजाति समुदायका जनप्रतिनिधि, महिला, विद्यार्थी, पत्रकार लगायत जनजाति अगुवा संस्थाका केन्द्र, प्रदेश र जिल्लाका प्रतिनिधि तथा सरोकावालाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।