गुल्मी, ११ असार २०८२ – गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुँवाखोलामा चिया खेतीको परीक्षण सफल भएपछि त्यसको क्षेत्र विस्तार गर्न थालिएको छ । गत वर्ष इलामबाट ल्याइएका १२ हजार भन्दा बढी चियाका बिरुवाहरुको परीक्षण अत्यन्त उत्साहजनक भएको र बिरुवा राम्रोसँग हुर्किएपछि थप २० रोपनी जमिनमा पहिलेकै परिमाणमा चिया खेती विस्तार गरिएको हो ।
खालि रहेको भिरपाखाको बाँझिएको जमिनलाई उत्पादनमा ल्याउने उद्देश्यसहित तमु उद्यमशिल महिला समूहले यो पहल थालेको हो । समूहले विशेष उपसमिति गठन गरेर चिया खेतीको योजना, बिरुवा रोपण र अध्ययन कार्य अघि बढाएको छ । प्रारम्भिक चरणमा १७ रोपनी जमिनमा चिया रोपिएको थियो भने अब चिया खेतीको क्षेत्र क्रमशः बढाउँदैछ ।
धुँवाखोला चिया बगान खेतीमा समर्पित ३६ घर परिवारले सामूहिक रूपमा काम गर्दै आएका छन् । स्थानीय तमु टोल विकास संस्था, तमु युवा क्लव, धुँवाखोला चिया बगान संरक्षण उपभोक्ता समिति लगायतका संस्थाहरुले समेत चिया खेतीमा सहकार्य गरिरहेका छन् ।
धुँवाखोलामा सञ्चालनमा रहेको धुँवाखोला होमस्टे परियोजनालाई चिया खेतीसँग जोडेर पर्यटन प्रवर्द्धन र स्वरोजगार सृजना गर्ने योजना बनाइएको होमस्टेका अध्यक्ष राजु गुरुङले वताए । साथै धुँवाखोला चिया बगान समितिका संयोजक कर्णबहादुर गुरुङले चिया खेती र होमस्टेबाट युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकिने विश्वास व्यक्त गरेका थिए ।
तमु उद्यमशिल महिला समूहकी अध्यक्ष जमुना गुरुङका अनुसार यो प्रयासले जमिन बाँझो बस्न नदिई उपयोगमा ल्याउने मात्र होइन, वैदेशिक रोजगारीको सट्टा स्वदेशमै अवसर सिर्जना गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार समुन्द्री सतहबाट ८०० देखि १८०० मिटरको उचाइमा चिया खेतीका लागि उपयुक्त वातावरण हुन्छ । धुँवाखोला जस्तै ओसिलो हावापानी भएको भूभाग चिया खेतीको लागि राम्रो हुने जानकारी केन्द्रले दिएको छ ।
गत वर्ष कृषि ज्ञान केन्द्र गुल्मीको पहलमा समूहका प्रतिनिधिहरुलाई चिया तथा कफी विकास बोर्ड, इलाममा अध्ययन भ्रमण गराएको थियो । त्यहाँ प्राविधिकहरूसँग अन्तर्क्रिया र तालीमसमेत प्राप्त गरेका थिए । यस वर्ष पनि कालिगण्डकी गाउँपालिका गुल्मी र राष्ट्रिय चिया तथा कफी विकास कार्यालय बडडाँडा प्यूठान संगको समन्वय, सहकार्य र आर्थिक तथा प्राविधिक सहयोगमा चिया खेती विस्तार गरेका छन् । यस प्रयासले गुल्मीमा नयाँ सम्भावनाहरुको ढोका खुलेको छ – जहाँ चिया खेती, सामुदायिक पर्यटन र उद्यमशीलताको संयोजनले समृद्धिको बाटो तय गर्नेछ ।