KhojSansar

काँक्रोले दक्षिण धादिङका किसान निराश

Khoj Sansar News

मलेखु (धादिङ), २३ साउनः मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मास्कर र चितवनको राप्ती नगरपालिका–१३ गडी आसपासका किसान आफूले उत्पादन गरेको काँक्रोले मूल्य नपाउँदा निराश बनेका हुन् । अघिल्ला वर्षमा काँक्रोबाट मात्रै एक याममा रु तीन लाखसम्म नगद बुझेका किसानले अहिले रु ५० हजारको पनि काँक्रो बिक्री गर्न नसकेको गडीका स्थायीय रमेश श्रेष्ठले गुनासो गर्नुभयो ।

गडी र मास्कर दुई गाउँ धादिङ र चितवनको सीमावर्ती गाउँ हुन । यहाँका करिब ७० घरपरिवारले बारीमा काँक्रो लगाएका छन् । भौगोलिक हिसाबमा विकटमा पर्ने गडी र मास्करमा धेरैजसो विपन्न चेपाङ समुदायको बसोबास छ । यसपालिको काँक्रोखेतीले मुनाफा नदिए पनि लगानी उठाउन कठिन भएको किसानको भनाइ छ । “पोहोर प्रतिकिलो रु ९० देखि रु १०० सम्म पाइन्थ्यो, यसपालि बढीमा ४५ रुपैयाँ र थोरैमा २२ रुपैयाँसम्म झरेको छ”, मास्करका किसान सन्दीप चेपाङ भन्नुहुन्छ, “भाँडा, मजदुरी र मेहनत जोड्दा हामीले घाटा मात्र बेहोरेका छौँ, बीउ रोप्दाको पैसा पनि उठ्दैन जस्तो छ ।”

काँक्रोमा फल लाग्नुअघि नै रोग लागेको र पहेलो हुँदै बोटै सुक्न थालेको उहाँ सुनाउनुभयो । “प्राविधिकले आफैँ आएर हे¥यो, केही कम भयो जस्तो लाग्थ्यो”, चेपाङ सुनाउनुहुन्छ, “बल्लतल्ल बचेको बोटमा फलेको काँक्रोले पनि बजार मूल्य पाएन, अब फाइदा कमाउने आशा छैन नै लगानी उठाउन पनि नसक्ने भइयो ।”

पोहोर साल आठ प्याकेट बीउ लगाएर रु दुई लाख ४६ हजार कमाएकामा यसपालि अहिलेसम्म जम्मा रु २२ हजारको मात्रै काँक्रो बिक्री भएको किसान चन्द्र चेपाङको भनाइ छ । उहाँका अनुसार अघिल्ला वर्षहरुमा प्रतिकिलो रु ९० देखि रु १४० सम्ममा बेचिएको काँक्रो यस वर्ष सबैभन्दा बढी मूल्य पाउँदा रु ४५ सम्म पाइएको छ । “अहिले रु २२ मा पनि नबिक्ने अवस्था छ बीउ लगाउँदाको खर्च, मजदुरी र गाडी भाडा उठाउन पनि हामीलाई धौधौ छ”, उहाँले भन्नुभयो ।

एक हलको मेलो बारीमा आठ प्याकेट जति बीउ लगाइन्छ । एक प्याकेट बीउ किनेर लगाउन मात्रै रु तीनदेखि चार हजारसम्म लाग्छ । मास्कर र गडीका किसानहरु कसैले दशदेखि ५० पाकेटसम्म बीउ लगाएका छन् । सानो लगानी गर्नेले पनि घाटा व्यहोर्नुपरेको छ भने ठूलो लगानी गर्ने बढी मारमा परेका छन् । “पोहोर परार एक लट काँक्रा बेच्दा रु ४५ हजारसम्म आउँथ्यो, अहिले रु पाँच हजार पनि आउँदैन”, किसान रामलाल चेपाङ भन्नुहुन्छ, “कति दुःख गरेर लगायौँ, तर मूल्य नपाएपछि यहाँका सबै किसान घाटा व्यहोर्न बाध्य छौँ ।”

गडी आसपासका किसानले काँक्रा करिब दुई घण्टाको बाटो पार गर्दै पृथ्वी राजमार्गसम्म झारेर धादिङ र चितवनका बजारमा बिक्री गर्दै आएका छन् । दक्षिणी धादिङको विकट क्षेत्रमा उत्पादन भएको काँक्रा जिल्लाका ठूला बजारमा भने व्यापारीले प्रतिकिलो रु ६० रुपैँयादेखि रु ७० सम्ममा व्यापारीलाई बिक्री गरिरहेका छन् ।

आपूर्ति धेरै माग कम भएकाले मूल्य घटेको व्यापारीको भनाइ छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहले व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्दै आएका छन् । बजार व्यवस्थापनमा ध्यान दिन नसक्दा किसानले उत्पादनबाट घाटा व्यहोर्नुपरेको हो । -रासस

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.