KhojSansar

सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन

Khoj Sansar News

कञ्चनपुर, २ भदौ : शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित हुनुहुन्छ । लेयर्स जातका कुखुरापालनमा लाग्नुभएका उहाँले महिनामै रु तीन लाख बढीका अण्डा बिक्री गर्नुहुन्छ ।

कामदार, कुखुराको चारो, औषधि लगायतको खर्च कटाएर चौधरीले महिनामा रु एक लाख जतिको रकम आम्दानी गर्नुहुन्छ । नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिक रूपमा कुखुरापालक किसानका रूपमा हुनुहुन्छ । तीन दशकदेखि उहाँले व्यावसायिक रूपमा कुखुरापालन गर्दै आउनुभएको छ ।

उहाँको जीवनयात्रा कहालीलाग्दो सङ्घर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो । कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उहाँले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्नुहुन्छ ।

“त्यो झुपडीमा एउटा कोठा सुत्नका लागि प्रयोगमा ल्याउथ्यौं, अर्को कोठामा कुखुरापालन हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “वर्षा लाग्दा पानी चुहेर सुत्ने ठाउँसमेत नहुने अवस्था हुन्थ्यो, छोरालाई वर्षाको पानीबाट जोगाउन सिरकभित्र लुकाउँथ्यौं, हामी दुवै बुढाबुढीको अधिकांश समय छानो टाल्दैमा बित्थ्यो ।”

चौधरीको पुख्र्यौली घर कृष्णपुर नगरपालिका–६, बालुवाफाँटा हो । अहिले पनि उहाँको त्यहाँ कमाइ खोने जग्गा छ । त्यो जग्गालाई उहाँले अधियामा खेती गर्नका लागि दिनुभएको छ । सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुग्नुअघि नै उहाँ परिवारसँगै नगरपालिकाको झलारी बजार बजारमा बस्नका लागि आइपुग्नुभएको हो । बस्ने ठेगानै नभएपछि चिनजानका स्थानीय घुम्मन चौधरीको जग्गामा सानो झुपडी बनाएर बसाइ सुरू भएको उहाँ स्मरण गर्नुहुन्छ । त्यही झुपडीमै विसं २०५६ मा कुखुरापालन व्यवसायको सुरुआत भयो ।

देशमा सङ्कटकाल घोषणा भएको बेलाको एउटा सम्झना चौधरीका लागि अझै पनि गहिरो छ । कुखुरापालनका लागि खर ल्याउन बेलडाँडी पुगेका उहाँ ट्रयाक्टरमा खरसहित झलारी फर्किदै गर्दा सुरक्षाकर्मीले विद्रोही पक्षका लागि कार्य गर्न थालेको आशंकामा चालकलाई नियन्त्रणमा लिएका थिए । “केही दिन प्रहरी चौकीकै चक्कर काट्नु प¥यो, धेरै हारगुहारपछि मात्रै चालक छुटाउन सक्यौँ”, उहाँले भन्नुभयो । जस्तोसुकै समस्या आए कुखुरापालन भने उहाँले कहिल्यै छाड्नुभएन ।

चौधरीको उद्यमशील यात्राको पहिलो पाइलो ब्रोइलर कुखुराबाट सुरू भयो । पाँच सय कुखुराबाट सुरू गरेको व्यवसाय विस्तारै बढ्दै गयो । आम्दानी बढेसँगै उहाँले चल्ला थप्दै लग्नुभयो । त्यतिबेला झलारी बजारमा व्यावसायिक रूपमा ब्रोइलर पालन गर्ने उहाँ मात्रै एक्लै थिए । यही आम्दानीबाट उहाँले चार कठ्ठा जग्गा खरिद गरे र स्थायी फार्म निर्माण गर्नुभयो ।

सात वर्षसम्म ब्रोइलर कुखुरापालन गरेपछि चौधरीले लेयर्स कुखुरापालन गर्न थाले । आज उहाँसँग दुई वटा फार्म छन् । त्यहाँ तीन हजारभन्दा बढी लेयर्स कुखुरापालन गरिएका छन् । कुखुरापालनका लागि चौधरीले रु ४० लाख बढी लगानी गर्नुभएको छ ।

दैनिक छ देखि आठ पेटी अण्डा उत्पादन हुन्छ, जसको मूल्य स्थानीय बजारमा प्रति पेटी रु तीन हजार तीन सय पर्छ । महिनामा झण्डै रु तीन लाखको अण्डा बिक्री हुन्छ भने रु दुई लाख जति खर्च कटाएर पारिवारिक जीवन सहज रूपमा धानिएको छ । बिहान ५ बजेदेखि साँझ ढल्केसम्म परिवारका सबै सदस्य काममा खटिन्छन् ।

उहाँकी श्रीमती पृथीदेवी चौधरी भन्नुहुन्छ, “आम्दानी यहीबाट छ, त्यही भएर गाह्रो भए पनि मेहनत गर्नैपर्छ ।” कुखुरापालनकै आम्दानीले चौधरीले छोरीलाई उच्च शिक्षासम्म पढाएर अहिले सरकारी सेवा प्रवेश गरेको उहाँ बताउनुहुन्छ । उहाँले छोरालाई रु १० लाख खर्च गरेर वैदेशिक रोजगारीका लागि युरोपको सर्विया पठाउनुभएको छ । उहाँले अर्को छोरालाई पढाइ पश्चात पढाइ विवाह गरेर आफूसँगै व्यवसायमा संलग्न गराउनुभएको छ ।

दश वर्षका लागि भाडामा जग्गा लिएर चौधरीले तीन वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको छ । “पहिलो वर्ष ४५ वटा बङ्गुर पाल्दा राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो, “त्यसको एक वर्षअघि महामारी फैलिएर धमाधम अन्य किसानका बङ्गुर मर्ने क्रम सुरु भएपछि ३१ वटा बङ्गुर बिक्री गरिदिए ।” हाल फार्ममा ११ वटा मात्र बाँकी छन् । गतवर्ष मात्रै उहाँले रु दुई लाख २५ हजारका पाठापाठी बिक्री गर्नुभएको थियो ।

चौधरी केवल व्यवसायी मात्रै नभएर समाजसेवीका रूपमा चिनिनुहुन्छ । उहाँले वेस नामक संस्थाको अध्यक्ष भएर दुई दशकभन्दा बढी समय समाजसेवामा सक्रिय भूमिका खेल्नुभएको छ । आज उहाँले व्यवसायमै आत्मनिर्भर बनेर सन्तानलाई उज्ज्वल भविष्य दिन सकेका छन् । खरझुपडीमा बिताएका दिन उहाँको जीवनको एउटा अध्याय भए पनि आजको दृढता र लगनशीलताको जग त्यहीबाट राखिएको कुरा उहाँ निर्धक्कसँग बताउनुहुन्छ । -रासस

सम्बन्धित समाचारः

  • ‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

  • म्याग्दीको कोसेली टिमुरका परिकार

  • चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

  • शिक्षणसँगै खेती किसानी

  • मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.