KhojSansar

सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

Khoj Sansar News

चौतारा, २ भदौ : वर्षमा दुईपटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय सिन्धुपाल्चोकका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुक्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् ।

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्लो दुई वर्षदेखि ड्रागनफ्रुटखेती सुरू गर्नुभएको छ । सात रोपनी जमिनमा लगाएको ड्रागनफ्रुटले अहिले उत्पादन दिन थालेपछि उहाँले आम्दानीसमेत गर्न थाल्नुभएको हो । मैनालीले वर्षमा दुईपटक बजारमा यो फल बिक्री गर्नुहुन्छ । उहाँले खेतबाट प्रतिकिलो ३५० देखि ४०० रूपैयाँसम्ममा ड्रागनफ्रुट बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । वर्षमा करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेको बताउने उहाँ परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित भएको बताउनुहुन्छ ।

बाँझो जमिनलाई फल्ने बनाउने उहाँको यो प्रयास केवल व्यक्तिगत सफलता होइन, सिङ्गो गाउँले अनुकरण गर्न सक्ने उदाहरणीय कृषि क्रान्ति पनि हो । दुई वर्षको मेहनत र माटोसँगको निरन्तर सम्बन्धपछि ती बिरुवाहरूले फल दिन थालेको मनालीको भनाइ छ । उहाँले भन्नुभयो, “यो खेती केवल व्यावसायिक रूपमा फाइदाजनक होइन, भविष्यको दिगो आधार बन्न सक्छ ।”

त्यस्तै साँगाचोकको पोखरेमा चौतारा छापका सुशील श्रेष्ठको करिब पाँच रोपनी जग्गामा ड्रागनफ्रुटको खेती छ । यहाँ करिब ४०० बिरुवा रोपिएका छन् । अहिले सबै बोटबाट रातो र सेतो जातका ड्रागनफ्रुट फल उत्पादन भइरहेको छ । उहाँले उत्पादन गरेको फल खरिद गर्न व्यापारीहरू बगानमै आउँछन् । ज्येष्ठदेखि कात्तिकसम्ममा दुईपटक फल बेचेर आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ ।

खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनाका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६५० देखि ८५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलोपटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गर्नुभएको थियो ।

पछिल्लो समय सिन्धुपाल्चोकमा किसानको ‘ड्रागनफ्रुट’ खेतीप्रति आकर्षण बढ्दै गएको छ । एकपटक लगाएको बिरुवाबाट वर्षौंसम्म आम्दानी लिन सकिने, सजिलो खेती प्रविधि र राम्रो बजार मूल्य भएकाले परम्परागत खेती छोडेर किसान व्यावसायिक ड्रागनफ्रुट खेतीतर्फ आकर्षित हुन थालेका हुन् । यसले सिन्धुपाल्चोकमा व्यावसायिक कृषि विस्तारको नयाँ सम्भावना पनि देखाएको छ ।

कृषि प्राविधिकहरूका अनुसार ड्रागनफ्रुट खेतीका लागि सिन्धुपाल्चोकको हावापानी उपयुक्त छ । यो खेती एकपटक लगाएपछि १५–२० वर्षसम्म फल दिने, कम सिँचाइ र कम मलको आवश्यकता हुने तथा बजार मूल्य उच्च हुने भएकाले कृषकहरूका लागि लाभदायक विकल्प हो । -रासस

सम्बन्धित समाचारः

  • तरकारीखेतीले फेरिँदै जीवनशैली

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • तनहुँमा मकै उत्पादन बढ्यो

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • फर्किएको रैथाने खान्कीको रौनक

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.