KhojSansar

बाँझिएकोे जमिनलाई फाँडेर रहरलाग्दो कागतीखेती

Khoj Sansar News

वालिङ (स्याङ्जा), १५ भदौः यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थाल्नुभएको हो ।

विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थाल्नुभएका उहाँले गत वर्षदेखि उत्पादन लिन थाल्नुभएको हो । गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाउनुभएको थियो ।

कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गर्नुभएका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ । “बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ”, उहाँले भन्नुभयो, “त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु ।”

खेतीपाती नभएपछि बाँझिएकोे जमिनलाई फाँडेर उहाँले गाउँमै पहिलोपटक व्यावसायिक रूपमा थालेको कागतीखेती आज नमूनाका रूपमा रहेको छ । कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।

“एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर बढी हुँदै गएको छ ।” झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गर्नुभएका रेग्मीले गत वर्षमात्र झण्डै रु ६० हजारको कागती बिक्री गर्नुभएको थियो ।

यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ । उहाँले कागती प्रतिकेजी रु दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आउनुभएको छ । “यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन”, उहाँले भन्नुभयो, “कागती व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु ।”

खाली तथा बाँझिएको जमिनमा अझै नयाँनयाँ बोट थप्दै जाने योजनामा उहाँ हुनुहुन्छ । गाउँमा व्यावसायिक रूपमा उहाँले कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने तयारीमा हुनुहुन्छ । -रासस

सम्बन्धित समाचारः

  • तरकारीखेतीले फेरिँदै जीवनशैली

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • तनहुँमा मकै उत्पादन बढ्यो

  • यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  • फर्किएको रैथाने खान्कीको रौनक

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.