KhojSansar

पर्वतमा रु चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

Khoj Sansar News

पर्वत, २० साउनः पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सातवटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा रु चार करोड ११ लाख बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो ।

जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भक्तजन तथा पर्यटकको थप आकर्षणका लागि पूर्वाधार थप गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी २९ वटा आयोजना थपिने कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार फलेबास नगरपालिकामा २६, मोदी गाउँपालिकामा १३, जलजला गाउँपलिकामा पाँच, पैँयु गाउँपालिकामा १७, विहादी गाउँपालिकामा ११ र बाँकी महाशिला गाउँपालिकामा आयोजना कार्यान्वयन गर्न थालिएको हो ।

पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माण, घरबास सुधारलगायत संरचना बनाइने भएको प्रमुख शर्माले बताउनुभयो । पछिल्लो समय शाहसिक पर्यटनको केन्द्र बन्दै गएको जिल्ला सदरमुकाम कुश्मा बजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गर्न लागिएको उहाँको भनाइ छ ।

शर्माका अनुसार कुश्मा नगरपालिकामा रु एक करोड ६० लाख, फलेवास नगरपालिकामा रु एक करोड ४० लाख, मोदीमा रु ६५ लाख, जलजलामा रु २५ लाख, पैँयु गाउँपालिकामा रु एक करोड, महाशिलामा रु ५५ लाख र विहादी गाउँपालिकामा रु ५५ लाख बजेट विनियोजन भएको छ । सबै आयोजना अल्पकालीन भएकाले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी कार्यान्वयनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

पर्वतका सातवटै पालिकामा गरी ६१ वटा घरबास सेवा सञ्चालनमा रहेका छन् भने दुई वटा निजी घरबाससमेत सञ्चालनमा रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । पर्यटकीय पूर्वाधारले घरबासमा आउने पर्यटकलाई सुविधा पुग्नुका साथै थप आकर्षण थप्ने विश्वास कार्यालयले लिएको छ । पछिल्ला केही वर्षयता पर्वत शाहसिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

सदरमुकाम कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जी, स्विङ, विश्वकै लामो सुपरम्यान शैलीको जिपलाइन, ¥याफ्टिङ, क्यानोनिङलगायत स्थानमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य र घरबाससम्म पु¥याउनका लागि पनि नयाँ थपिने पूर्वाधारले आकर्षित गर्ने कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

जिल्लामा पर्यटकीय सिजनमा दैनिक सयौँको सङ्ख्यामा बाह्य पर्यटक र दैनिकजसो भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्यमात्रामा रहे पनि पर्यटन सूचना केन्द्र नहुँदा तथ्याङ्क राख्न समस्या भएको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । जिल्लामा भित्रिने पर्यटकको वार्षिक तथ्याङ्क नहुँदा थप योजना निर्माणमा समस्या भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । गण्डकी प्रदेश सरकारमार्फत गत अािर्थक वर्षमा ४२ वटा आयोजना कार्यान्वयन गरिएको थियो । -रासस

सम्बन्धित समाचारः

  • अमाह सिमसार पर्यटकीय गन्तव्य

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

  • बालाचतुर्दशीः डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर, गोकुलधाम र पुर्तिघाट घुमाउनेमा छरियो शतबीज

  • रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

  • छहरे झरना

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.