KhojSansar

नमुना सामुदायिक विद्यालयको परिचय बनाउँदै – ग्वाघा माध्यमिक विद्यालय

Gwagha school

गुल्मी, ९ असार २०८२

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नं ५ मा अवस्थित वि.स.२०१४ मा स्थापना भएको ग्वाघा माध्यमिक विद्यालय अहिले शिक्षा र पूर्वाधारको समुचित समायोजन गर्दै नमुना सामुदायिक विद्यालयको रूपमा आफ्नो छवि बनाउँदै अगाडि बढिरहेको छ । “सिकाइलाई सीपसँग जोड्ने” विशेष कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीसँगै अभिभावक र समुदायलाई समेत समेट्ने किसिमको बहुआयामिक पहल गरिरहेको छ ।

भौतिक विकासमा गुणात्मक सुधार – विद्यालयले २०७५ सालमा तयार पारेको भौतिक कार्ययोजना अनुसार १२ वटा पक्की कोठा निर्माण, पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला, चमेनागृह, शौचालय, खानेपानीको व्यवस्था, विद्यालय घेराबार, हल र चिल्ड्रेन पार्क निर्माणको योजना अघि सारेको थियो । हालसम्म २२ वटा पक्की कोठा निर्माण भइसकेको छ । चमेनागृह सञ्चालनमा छ भने कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला र पुस्तकालय लगभग व्यवस्थित भइसकेका छन् । शुद्ध खानेपानी, शौचालय र अन्य संरचना सन्तोषजनक छन् । बाँकी रहेका हल, चिल्ड्रेन पार्क, र विद्यालय घेराबार निर्माण आगामी प्राथमिकतामा रहेका छन् ।

आर्थिक सुदृढीकरणको दिशामा नमुना प्रयास – विद्यालयले आर्थिक पारदर्शिता र दीर्घकालीन स्रोत सुनिश्चित गर्न २०७५ सालमै अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो । अहिलेसम्म विद्यालयले २२७ घरपरिवार वा व्यक्तिलाई सहयोगीको रूपमा समेट्दै १५२ घरपरिवार वा व्यक्ति प्रत्यक्ष रूपमा अक्षयकोषमा आबद्ध गराइसकेका छन् । विद्यालयमा हाल रु. २,००,७१,२५३।६७ नगद मौज्दात रहेको छ । यो रकम समुदायकै सहभागिता र फजुल खर्च कटौतीजस्ता रणनीतिले सम्भव भएको हो । “एक घर, एक अक्षयकोष” कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध अझ बलियो बनाएको छ ।

सिकाइसँगै सीप – व्यवहारिक शिक्षा ग्वाघा मा.वि.ले “सिकाइसँगै सीप” कार्यक्रम अन्तर्गत कृषि शिक्षालाई प्रभावकारी रूपमा लागू गरेको छ । “एक कक्षा, एक खेती” कार्यक्रम अन्तर्गत विद्यालयले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव प्रदान गर्दै आएको छ । यसबाट विद्यार्थीहरूले सीप सिक्नुका साथै श्रम संस्कार, सामूहिक सहकार्य, आत्मनिर्भरताको भावना, र उद्यमशील सोच समेत विकास गर्न थालेका छन् । कृषि उत्पादनबाटै विद्यार्थी कल्याणकारी कोषमा ५२,००० रुपैयाँभन्दा बढी रकम संकलन गरिएको छ, जुन छात्रवृत्ति तथा पुरस्कार वितरणमा प्रयोग हुँदै आएको छ । विद्यार्थीहरूले किवी, गोलभेंडा, च्याउ आदिको उत्पादन आफ्नै घरमा समेत गर्न थालेका छन् । यस वर्ष विद्यालय परिसरभित्रै बाँझो चौर खनेर ६०० बोट अकबरे खुर्सानी, स्कुस, अदुवा, सिमी, बोडी जस्ता बालीहरू झन्डै २ रोपनी जग्गामा लगाइएको छ । हरेक वर्ष खेतीको क्षेत्र र परिमाण बढ्दो क्रममा रहेको छ ।

शैक्षिक प्रगति र नविनतम अभ्यास – विद्यालयमा हाल कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । आगामी दिनमा विद्यालयलाई डिजिटल शिक्षा केन्द्रमा रूपान्तरण, शिक्षक सशक्तीकरण, अभिभावक अभिमुखीकरण, “एक विद्यार्थी, एक सीप” कार्यक्रम, साथी शिक्षण कार्यक्रम, विशेष छात्रवृत्ति योजना, हरियाली तथा स्वच्छता अभियान, मनोपरामर्श केन्द्र, र योग कार्यक्रम जस्ता नविनतम अभ्यासमार्फत शैक्षिक गुणस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्य राखेको विद्यालयका प्रध्यानध्यापक प्रकाश थापाले वताउनु भयो ।

ग्वाघा माध्यमिक विद्यालयले विगत केही वर्षयता शिक्षा, पूर्वाधार, आर्थिक सुदृढीकरण तथा सीपमुखी कार्यक्रमहरूमा देखाएको योजनाबद्ध सक्रियताले यस विद्यालयलाई उदाहरणीय सामुदायिक शिक्षालयको रूपमा उभ्याएको छ । विद्यालयको समग्र उन्नतिमा समुदाय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको एकीकृत प्रयासका साथै स्थानीय सरकारसँगको प्रभावकारी सहकार्यले विशेष भूमिका खेलेको देखिन्छ ।

यद्यपि, प्रगतिका यी सकारात्मक पाटाहरूका बीचमा विद्यालयले केही चुनौतीहरूसँग पनि जुधिरहेको छ । विद्यार्थी संख्या क्रमशः घट्दै जानु, दुर्गम भौगोलिक अवस्थाका कारण विद्यालयमा नियमित पहुँचमा कठिनाइ हुनु, प्रविधिको अनुचित प्रयोग, सीमित भौगोलिक क्षेत्रफल तथा स्रोतको अभावले दक्ष जनशक्ति लामो समयसम्म कायम राख्न असहज हुनु, साथै विद्यार्थी संख्या न्यून भएकाले कक्षा ९ देखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा प्रभावकारी शिक्षण सिकाइ सञ्चालन गर्न कठिनाइ हुनु प्रमुख चुनौती रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लिल बहादुर रानाले वताउँदै ग्वाघा माध्यमिक विद्यालयको समर्पित प्रयास र साझा प्रतिबद्धताले यस विद्यालयलाई गुणस्तरीय र आत्मनिर्भर शिक्षालयको दिशातर्फ अग्रसर रहेको समेत वताउनु भयो ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.