KhojSansar

नेपाल शिक्षक महासंघको तेस्रो पालिका अधिवेशन भव्यताका साथ सम्पन्न, नवनिर्वाचित कार्यसमिति गाउँपालिकाद्वारा सम्मानित

Nepal Shikshak Mahasangh Kaligandaki Gulmi

गुल्मी, असार १४, २०८२ – शिक्षाको उच्चतम मूल्य र गरिमालाई संस्थागत गर्दै, नेपाल शिक्षक महासंघ कालिगण्डकी गाउँपालिका, गुल्मीको तेस्रो गाउँपालिका अधिवेशन २०८२ जेठ २४ गते सम्पन्न भएको थियो, जसबाट शिक्षक श्री पोषकान्त न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत ढंगले चयन भएको हो । नयाँ नेतृत्वको चयनसँगै महासंघको प्रथम बैठक असार १४ गते गाउँपालिकाको बैठक कक्षमा सम्पन्न भएको छ । उक्त बैठकमा गाउँपालिका अध्यक्ष श्री वेदबहादुर थापाको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री नरेश गिरीको विशेष उपस्थिति तथा महासंघका सचिव श्री विनोद ढकालको सञ्चालनमा विभिन्न नीतिगत निर्णयहरू गर्दै सम्पन्न भएको हो । शिक्षक समुदायको समर्पण, संगठनप्रति निष्ठा र शैक्षिक विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ सम्पन्न भएको यस अधिवेशनले शिक्षासम्बन्धी नीतिगत र व्यवहारिक सुधारका लागि महत्त्वपूर्ण निर्णयहरू लिएको छ ।

विभिन्न शैक्षिक आन्दोलन, राष्ट्रिय नीति तथा शिक्षा सम्बन्धी ऐन संशोधनसँगै स्थानीय तहमा शिक्षक नेतृत्वको भूमिकाको आवश्यकता झन् बढ्दो अवस्थामा रहेको वर्तमान सन्दर्भमा कालिगण्डकी गाउँपालिका गुल्मी नेपाल शिक्षक महासंघको यो अधिवेशन ऐतिहासिक र निर्णायक भएको महासंघको बुझाई छ ।

पहिलो बैठकको अवसर पारेर कालिगण्डकी गाउँपालिकाले नवनिर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरूलाई विशेष सम्मानसमेत गरेको थियो । गाउँपालिका अध्यक्ष श्री थापाले कार्यक्रममा बोल्दै शिक्षक महासंघ शिक्षाको मेरुदण्ड भएको उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट आगामी दिनमा हरेक शैक्षिक अभियानमा आवश्यक समन्वय, सहकार्य र सहयोग सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै थापाले संघीयता कार्यान्वयनपछि शिक्षकको भूमिका झनै महत्त्वपूर्ण बनेको उल्लेख गर्दै महासंघले नीति निर्माण, शिक्षा व्यवस्थापन र गुणस्तर अभिवृद्धिमा क्रियाशील रहनुपर्नेमा जोड दिएका थिए ।

महासंघको पहिलो बैठकले हालको शिक्षाको गुणस्तर र शैक्षिक व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न दूरदर्शी निर्णयहरू गरेको छ ।

१. शैक्षिक आन्दोलनको प्रभाव न्यूनिकरणको उपाय: नेपाल शिक्षक महासंघले आव्हान गरेको विगतको बृहत शैक्षिक आन्दोलनको क्रममा पठनपाठनमा परेको असर न्यूनीकरण गर्न फागुन महिनाका सार्वजनिक विदा (३, ६, ७, १८ र २४ गते) विद्यालय सञ्चालन गरी सिकाइ प्रक्रिया निरन्तरता दिने ।

२. एसईई ग्रेड वृद्धिका लागि अतिरिक्त कक्षा सञ्चालन: हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाअनुसार ग्रेड वृद्धिमा परेका विद्यार्थीहरूलाई छुट्टै अध्ययन व्यवस्थासहित विदाको समयमा समेत कक्षा सञ्चालन गर्ने ।

३. एकीकृत परिचयपत्र निर्माण: सेवा प्रवाह र पहिचानमा पारदर्शिता र सरलता ल्याउने अपेक्षा सहित शिक्षक तथा कर्मचारीहरूको परिचय पत्रमा एकरूपता ल्याउन QR Code सहितको परिचयपत्र निर्माण गर्ने ।

४. विषयगत समिति गठन र परीक्षा प्रणाली सुधार: आधारभूत तहदेखि माध्यमिक तहसम्म विषयगत समितिहरू गठन गरी प्रत्येक विषयको प्रश्नपत्र निर्माण, मूल्याङ्कन र परीक्षा सञ्चालन प्रणालीमा गुणस्तरीय सुधार गर्ने ।

५. कार्यालय व्यवस्थापन: महासंघको कार्यालय व्यवस्थापन तथा क्रियाकलाप सञ्चालनका लागि जीवनोद्वार माध्यमिक विद्यालयको गुणस्तर केन्द्रले प्रयोग गर्दै आएको कोठालाई महासंघको कार्यालयका रूपमा प्रयोग गर्ने ।

६. शिक्षक महासंघ र गाउँपालिका समन्वय: शैक्षिक योजना तथा कार्यक्रमहरू निर्माण, अनुगमन र मूल्याङ्कनमा शिक्षक महासंघ र गाउँपालिकाको शिक्षा शाखाबीच सघन समन्वय गर्ने ।

नेपाल शिक्षक महासंघ कालिगण्डकी गाउँपालिका, गुल्मीको तेस्रो पालिका अधिवेशनले शिक्षामा नेतृत्व, दृष्टिकोण र प्रतिबद्धताको नयाँ आधारशिला तयार गरेको वताउँदै नवनिर्वाचित कार्यसमिति र गाउँपालिकाबीचको सहकार्यले आगामी दिनमा स्थानीय तहमा शैक्षिक उत्कृष्टता, शिक्षक अधिकार र विद्यार्थी हित सुनिश्चित हुने विश्वास महासंघका सह अध्यक्ष सुन्दर आलेले व्यक्त गरे ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू
अध्यक्ष: श्री पोषकान्त न्यौपाने
सह अध्यक्ष: श्री सुन्दर आले
उपाध्यक्ष: श्री मिन बहादुर श्रीस
महिला उपाध्यक्ष: श्री पार्वति थापा
सचिव: श्री विनोद ढकाल
सह सचिव (खुला): श्री आशारानी श्रीस
सह सचिव (महिला): श्री डिला त्रामु
सह सचिव (अर्थ): श्री हरि बहादुर श्रीस
संस्थागत सह सचिव (४ जना):
सदस्यहरू:- श्री कृष्ण कुमारी सलामी, श्री पूर्ण बहादुर थापा, श्री उमा खत्री, श्री गिता पाण्डे तिवारी, श्री बाबुराम गौतम, श्री रमेश न्यौपाने, श्री प्रेम बहादुर श्रीस, श्री प्रकाश पाण्डे, श्री हरिमाया पौडेल, श्री सुनिता ढकाल, श्री टीका बहादुर राना

नेपाल शिक्षक महासंघ कालिगण्डकी गाउँपालिका गुल्मीले शिक्षालाई सेवा मात्र होइन, समाज परिवर्तनको मूल माध्यमका रूपमा लिएको छ । नयाँ कार्यसमिति चयनसँगै महासंघले आगामी कार्ययोजना निर्माणमा गुणस्तरीय शिक्षा, शिक्षकको हकहित रक्षा, नविन पाठ्यक्रम कार्यान्वयन र प्रविधिको समावेशी प्रयोगलाई प्राथमिकतामा राख्ने  महासंघका अध्यक्ष पोषकान्त न्यौपानेले वताए । साथै शिक्षकको सम्मान, संगठनको सुदृढीकरण र विद्यार्थी केन्द्रित शिक्षाको विकासलाई मूल लक्ष्यका रूपमा अघि सार्दै न्यौपानेले विद्यालय र शिक्षकबीच सहकार्य बढाई बालबालिकाको सर्वांगीण विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.