KhojSansar

तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न (शिक्षामा गुणस्तरको खोजीमा कालिगण्डकीको दृढ संकल्प)

KhojSansarNews Khoj sansar News School Three Star news

गुल्मी, २० असार २०८२ – शिक्षालाई समावेशी, गुणस्तरीय र पहुँचयुक्त बनाउने उद्देश्यका साथ कालिगण्डकी गाउँपालिकाले सञ्चालनमा ल्याएको “तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम” शुक्रबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको समन्वय तथा प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम कालिगण्डकी गाउँपालिकाको सभाहल, कनौटामा सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गरेका थिए भने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री प्रमुख अतिथि थिए । उपप्रमुख तेजेन्द्र सलामी मगर, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कृष्ण प्रसाद भण्डारी, कालिगण्डकी गाउँपालिकाका ७ वटै वडाका अध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि, स्थानीय अगुवा, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले शिक्षा क्षेत्रको वर्तमान अवस्थाबारे समीक्षा गर्दै तिनतारा विद्यालयको अवधारणा, मापदण्ड र कार्यान्वयन प्रक्रियाका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । अध्यक्ष वेदबहादुर थापाले कालिगण्डकी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको र तिनतारा विद्यालय अवधारणा त्यसको मूर्त उदाहरण भएको उल्लेख गरे। उनले भने, “हामी विद्यालयको भवन होइन, भविष्य निर्माण गर्दैछौं । अबको शिक्षा परिणाममुखी र जीवनोपयोगी हुनुपर्छ ।”

जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले गाउँपालिका स्तरमै यस्तो दिगो र परिवर्तनमुखी शिक्षा अभियान सञ्चालन गर्नु सराहनीय कार्य भएको बताए। उनले तिनतारा विद्यालय अभियानलाई जिल्ला, प्रदेश र संघीय सरकारसमक्ष उदाहरणीय मोडलको रूपमा प्रस्तुत गर्न सकिने धारणा व्यक्त गरे ।

तिनतारा विद्यालयको परिकल्पना के हो?

कार्यक्रममा प्रस्तुत अवधारणाअनुसार, “तिनतारा विद्यालय” भन्नाले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, व्यवस्थापन र उत्तरदायित्वका क्षेत्रमा उच्च स्तरको मापदण्ड पूरा गरेका विद्यालयलाई जनाइन्छ। विद्यालयको शैक्षिक परिणाम, शिक्षकको दक्षता, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, बालमैत्री वातावरण, समावेशिता, सूचना प्रविधिको प्रयोग, अभिभावक-शिक्षक समन्वय, वित्तीय पारदर्शिता लगायतका सूचकहरूमा आधारित मूल्यांकनपछि विद्यालयलाई ‘एक तारा’, ‘दुई तारा’ वा ‘तिनतारा’ श्रेणीमा वर्गीकरण गरिन्छ । कार्यक्रमका अन्य वक्ताहरुले शिक्षालाई प्रतिस्पर्धी मात्र होइन, सहकार्यमा आधारित बनाउनुपर्ने, विद्यार्थीलाई मेमोरी बेस होइन, स्किल बेस्ड बनाइनुपर्ने, शिक्षकको नियमित अभिवृद्धि र अभिभावकको सहभागिता अनिवार्य गरिनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति कृष्ण प्रसाद भण्डारीले सामुदायिक सशक्तीकरणमा शिक्षा क्षेत्रको भूमिका अतुलनीय भएको उल्लेख गर्दै पालिकास्तरको यस्ता कार्यक्रमहरूप्रति संस्था सधैं सकारात्मक रहने जानकारी गराउँदै भने “शिक्षा, स्वास्थ्य र मानवता हाम्रो प्राथमिकता हो । तिनतारा विद्यालय अभियानमा हामी स्रोत, साधन र सीपमार्फत सदैव साथमा छौं ।”

कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू र प्रधानाध्यापकहरूले शिक्षामा सुधारका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए । विद्यालयमा आवश्यक पूर्वाधार निर्माण, गुणस्तरी शिक्षकको स्थायीत्व, समयमै पाठ्यपुस्तक उपलब्धता, र शैक्षिक अनुगमनको नियमितता लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने कुरामा जोड दिइएको थियो । साथै, अभिभावक, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरुले विद्यालयमा हुने हरेक क्रियाकलापमा पारदर्शिता र सहभागीता सुनिश्चित गर्नुपर्ने र सबै पक्ष एकजुट भएर गुणस्तरीय शिक्षाको मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए । तिनतारा विद्यालय प्रवर्द्धन कार्यक्रमले कालिगण्डकी गाउँपालिकामा शिक्षा क्षेत्रप्रतिको गम्भीरता, दायित्वबोध र सहभागितामूलक विकासको प्रतिबिम्ब प्रस्तुत गरेको छ । यस्तो पहलले विद्यालय र समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने, गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र भावी पुस्ताका लागि समृद्ध समाज निर्माण गर्ने दिशामा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रममार्फत उठाइएको आवाज, प्रतिबद्धता र कार्ययोजनाले नेपाली शिक्षा क्षेत्रमा नयाँ आशाको सञ्चार गराएको छ – जहाँ अबको शिक्षा केवल अंकको होइन, सोच, सीप र संस्कारको समुन्नत यात्रा हो ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.