काठमाडौं, २० वैशाख २०८३ । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ । मौसमविदहरुले बेला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् ।
तराई क्षेत्रको मौसम पूर्वानुमान
हिजोदेखि नै विभिन्न जिल्लाहरुमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न भागमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना रहेको ढकालले बताए । बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ ।
पहाडी भेगमा पनि यो साताभर वर्षाको सम्भावना
मौसमविदहरुका अनुसार पहाडी भेगमा आगामी मंगलबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । बुधबारदेखि विहीबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।
गण्डकी प्रदेशमा यो हप्ताभरी तथा कोशी, बागमती लुम्बिनीमा मंगलबारभित्र एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।
हिमाली भेगमा पनि हिउँ वा पानीको सम्भावना
मौसमविद ढकालका अनुसार यो हप्ताभर हिमाली क्षेत्रमा पनि हिउँ वा पानी पर्ने सम्भावना छ ।
आतबार, सोमबार र मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ । बुधबारदेखि भने हिमाली भेगमा केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।
हाल मधेश र सुदूरपश्चिम बाहेकका सबै प्रदेशमा वर्षा भइरहेको छ । अहिले पनि लुम्बिनी र गण्डकीमा मध्यम खालको वर्षा भइरहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा आज दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ । त्यसैले मौसमको अध्यावधिक जानकारी लिएर मात्रै कामको योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गत चौबिस घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा भएको छ । मुसिकोटमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी देवघाट, नवलपुरको देउराली, दुम्कौली लगायतका स्थानमा तथा अछामको असराघाटमा पनि भारी वर्षा भएको छ । तीन घण्टायता भने पर्वतको कार्की नेटा, स्याङ्जाको पञ्चमुल, कास्कीको पोखरा र लमजुङको राइनासटारमा भारी वर्षा भएको छ । काठमाडौंका कपन, कीर्तिपुर, सुन्दरीजल लगायतका स्थानमा सामान्य खालको वर्षा मापन भएको छ ।