बाँके, २३ कात्तिक २०८३ । नेपालगन्ज उपमहानगरपालिकाले सर्वसाधारणलाई सेवा प्रदान गर्ने उद्देश्यले खरिद गरेको करोडौँ मूल्यका सात वटा नगर बस सञ्चालन नहुँदा जीर्ण बन्दैगएको छ ।
आठ वर्षअघि खरिद गरिएका ती बसहरु केही समय मात्रै सञ्चालन गरेर बसपार्कमा थन्क्याएपछि हाल जीर्ण हुँदैगएका हुन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ मा चारवटा ४१ सिटे र तीन वटा ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ रुपियाँमा खरिद गरेको थियो ।
ती बसलाई उद्देश्यअनुरुप सञ्चालन गर्न नसक्दा लामो समयदेखि बसपार्कमा थन्किएर प्रयोगविहीन अवस्थामा पुग्न थालेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।
उहाँका अनुसार विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला सहचालक राखी सुरुवातमा उपमहानगरपालिका आफैँले सञ्चालन गरे पनि खर्च धान्न नसक्ने देखेपछि बसपार्क र सातवटा बस सञ्चालनका लागि ‘टेन्डर’ आह्वान गरिएको थियो ।
सात वटा बसको वार्षिक ५० लाख र नेपालगन्ज बसपार्कको पार्किङ शुल्क ५१ लाख न्यूनतम मूल्य कायम गरी टेन्डर आह्वान भएकोमा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक एक करोड ३७ लाख ५१ हजार रुपियाँमा ठेक्का स्वीकार गरेको थियो । बस सञ्चालनमा घाटा भएको जनाउँदै ठेकेदार कम्पनीले तीन वर्षअघि नगर बस बसपार्कमा थन्क्याएको प्रवक्ता रिजालले बताउनुभयो ।
तीन वर्षदेखि थन्काएर राखिएका बस पुनःसञ्चालनका लागि उपमहानगर कार्यपालिकाको बैठकले वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिको म्याद सकियो तर प्रतिवेदन हालसम्म बुझाएको छैन ।
समितिका संयोजक गोपाल पुनले आमा बिरामी भएर उपचारका लागि भारत जानु परेकाले समयमा प्रतिवेदन बुझाउन नसकिएको जनाउनुभयो । उहाँले सोही बिचमा समितिको म्याद सकिएको र फेरि म्याद थप नभएकाले काम गर्न नसकिएको उल्लेख गर्दै नगर बस हाल जीर्ण हुँदै गएकाले सामान्य अवस्थामा सञ्चालन गर्न नसकिने देखिएको बताउनुभयो ।
“लामो समयदेखि थन्क्याएर राखिएका बस अब सञ्चालन हुने अवस्थामा ल्याउन लाखौँ रुपियाँ खर्च हुने देखिएको छ” पुनले भन्नुभयो, “नगरवासीलाई सुविधा दिन सञ्चालन गर्ने भनिएका नगरबसको लागि सेवाभन्दा बढी प्रचारबाजी गरियो, बस सञ्चालनका लागि छुट्टै व्यवस्थापनको खाँचो छ ।”
लक्षित वर्गका लागि प्राप्त अनुदानमा नगरबस खरिद गरी राज्यको धनराशि खर्च भए पनि उपलब्धि नभएको भन्दै नगरवासीले चिन्ता र चासो व्यक्त गरेका छन् । नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्नका लागि आएको बजेटबाट खरिद गरिएका बस अहिले थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ठुलो धनराशी खर्च गरेर किनेका बस अहिले सञ्चालन गर्न सकिएन भनेर उम्कन मिल्दैन, विपन्न नागरिकको नाममा आएको बजेटबाट किनिएका बसहरू नगरवासीलाई सेवा मात्रै दिन भए पनि सञ्चालन हुनुपर्छ ।” करोडौँ मूल्यका नगरबस यसरी थन्क्याएर राख्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको पनि संयोजक श्रेष्ठले बताउनुभयो । -सिराज खान