KhojSansar

आँखा उपचार केन्द्र स्थापनाः ४ जिल्लाका सेवाग्राहीहरु लाभान्वित

kaligandaki eye care center gulmi

गुल्मी, १६ असार २०८२ – नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीले सेभा  (SEVA) नेपालको आर्थिक सहयोग र कालीगण्डकी गाउँपालिकाको सहकार्यमा, गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित पूर्तिघाट बजारमा छैठौं शाखाका रूपमा “कालीगण्डकी आँखा उपचार केन्द्र” स्थापना गर्दै दीर्घकालीन तथा गुणस्तरीय दृष्टि सेवाको नयाँ ढोका खोलेको छ । स्वास्थ्य पहुँच अभाव झेलिरहेका ग्रामीण बासिन्दाका लागि यो केन्द्र स्थापनाले सस्तो, सहज र प्रभावकारी आँखाको उपचारको सुनिश्चितता दिलाउने विश्वास गरिएको छ । कालिगण्डकी आँखा उपचार केन्द्र स्थापना भए संगै गुल्मी, पर्वत, बाग्लुङ र स्याङ्जा जिल्लाका ३५ जना सेवा ग्राहीहरुले प्रत्येक्ष लाभ लिएका थिए ।

कालीगण्डकी आँखा उपचार केन्द्रको औपचारिक समुद्घाटन एक भव्य समारोहका साथ सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यसमितिका महासचिव श्री भरत बहादुर चन्द रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गाउँपालिकाका उपाध्यक्ष मञ्जु कुमारी दर्लामी, नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका उपसभापति शेरबहादुर थापा, पाल्पा जिल्ला शाखाका सभापति बुद्धिप्रसाद शर्मा, अर्घाखाँची जिल्ला शाखाका सभापति दलबहादुर केसी, गुल्मी जिल्ला शाखाका सभापति अखिलेश्वर प्रसाद पाण्डेय लगायत थुप्रै विशिष्ट अतिथि, संघसंस्थाका प्रतिनिधि, स्थानिय जनप्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।

kaligandaki eye care center gulmi
कालिगण्डकी आँख उपचार केन्द्र समुद्घाटन कार्यक्रम २ असार २०८२

कार्यक्रमका प्रमुख अतिथि भरतबहादुर चन्दले आफ्नो मन्तव्य राख्दै नेपाल नेत्र ज्योति संघको उद्देश्य सबै नेपाली नागरिकसम्म गुणस्तरीय दृष्टि सेवा पुर्‍याउनु रहेको जनाउँदै पूर्तिघाटमा स्थापना भएको नयाँ शाखाले ग्रामीण समुदायका लागि ठूलो राहत दिने विश्वास व्यक्त गरे । “आजको दिन केवल एउटा भवन उद्घाटनको होइन, यो हजारौं आँखालाई उज्यालो दिने युगको सुरुवात हो”, चन्दले भने ।

गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले स्थानीय तह र संघसंस्थाबीचको समन्वय, सहकार्य र साझेदारीको उत्कृष्ट नमुना भएको भन्दै पूर्तिघाटमा स्थापना भएको आँखा उपचार केन्द्रले नजिकै सेवा नपाई सहर धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए । त्यसैगरी, कार्यक्रममा बोल्दै उपाध्यक्ष मञ्जु कुमारी दर्लामीले गाउँपालिकाले स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै आँखा उपचार केन्द्र स्थापनाको ऐतिहासिक कदम भएकोमा सन्तोष व्यक्त गरे । दर्लामीले महिलाहरू, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिका लागि सेवा सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाए ।

समारोहमा बोल्ने अन्य वक्ताहरू – शेरबहादुर थापा, बुद्धिप्रसाद शर्मा, दलबहादुर केसी, अखिलेश्वर प्रसाद पाण्डेय, प्रशासकीय प्रमुख नरेश गिरी, स्वास्थ्य संयोजकसहित विभिन्न वडाध्यक्ष र स्थानीय निकाय प्रतिनिधिहरूले आँखा सेवा केन्द्रको दीर्घकालिन प्रभावबारे चर्चा गर्दै संघसंस्थाहरूबीचको सहकार्यबाट सामुदायिक स्वास्थ्यमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए ।

नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदमप्रसाद पाण्डेले कार्यक्रम संचालन गर्दै आँखा उपचार सेवाको आवश्यकता, हालसम्मको अवस्था र आगामी योजनाहरूको बारेमा जानकारी दिए । समुद्घाटन समारोहकै अवसरमा कालीगण्डकी आँखा उपचार केन्द्रद्वारा ३५ जना बिरामीहरूको निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए । यस्ता शिविरहरूले सेवा प्रवाहको सुरुवाती प्रभावकारी अभ्यासका रूपमा कार्य गर्ने बताइएको छ । बिरामीहरूमा अधिकांश वृद्धवृद्धा, महिला र ग्रामीण क्षेत्रका श्रमिक वर्गका नागरिकहरू रहेको र उनीहरूमा मोतियाविन्दु, दृष्टि धमिलोपन, आँखामा संक्रमणजस्ता समस्या देखिएको जनाइएको छ ।

स्थापित केन्द्रमा सुरुआतमा प्राथमिक आँखा जाँच, चश्मा वितरण, सामान्य औषधोपचार सेवा दिइने छ भने आवश्यकता अनुसार जिल्ला आँखा उपचार केन्द्र गुल्मी वा लुम्बिनी आँखा अस्पताल भैरहवा रिफर गरिने व्यवस्था गरिएको छ । क्रमशः भविष्यमा यहाँ स्थायी मेडिकल अफिसर, मोबाइल शल्यक्रिया शिविर, दृष्टि परीक्षण उपकरण तथा सर्जिकल सेवा विस्तार गर्ने योजना समेत रहेको सचिव पाण्डेले बताए ।

समारोहमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो । विभिन्न आमा समूहका अध्यक्ष तथा सदस्य, स्वास्थ्य संस्था प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, युवा क्लवहरू र शिक्षक अभिभावक संघका सदस्यहरूले सेवा केन्द्रप्रति पूर्ण समर्थन व्यक्त गर्दै आवश्यक जनशक्ति व्यवस्थापन, जनचेतना अभिवृद्धि र सामुदायिक पहुँच सुनिश्चित गर्नका लागि गाउँपालिकासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

कालीगण्डकी गाउँपालिकाले स्वास्थ्य पूर्वाधार विस्तारमा विशेष प्राथमिकता दिँदै हालसम्म विभिन्न स्थानहरूमा स्वास्थ्य चौकी, बर्थिङ सेन्टर तथा पोषण सेवा केन्द्र स्थापना गरिसकेको छ । गाउँपालिकाको पूर्तिघाटमा आँखा सेवा केन्द्र थपिनु त्यसै रणनीतिक योजनाको एक अभिन्न पाटो हो ।

नेपाल नेत्र ज्योति संघ, लुम्बिनी प्रदेश तथा जिल्ला शाखाहरूले संयुक्त रूपमा आँखा स्वास्थ्यको क्षेत्रमा विगतका वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । नेपालमा अन्धोपन निवारणका लागि संकल्पित संघले देशभर सञ्जाल विस्तार गरिरहेको छ र ग्रामीण तथा दुर्गम क्षेत्रमा केन्द्र स्थापना गर्न केन्द्रित रहेको कालिगण्डकी आँखा उपचार केन्द्रको ईन्चार्ज (नेत्र सहायक) सतिश चन्द्र मिश्रले खोजसंसार https://khojsansar.com/ मेडियालाई जानकारी दिए ।

यसरी पूर्तिघाटमा स्थापन गरिएको कालीगण्डकी आँखा उपचार केन्द्र केवल एक स्वास्थ्य संस्था होइन, यो उज्यालो जीवनतर्फको पाइला हो – जसले कालीगण्डकी गाउँपालिकाका नागरिकहरूलाई दृष्टि गुमाउँदै जाने अवस्थाबाट रोक्न, समयमै उपचार गर्न र दृष्टि सम्बन्धी जनचेतना फैलाउन निर्णायक भूमिका खेल्नेछ । यस केन्द्रको स्थापनाले ग्रामीण स्वास्थ्य क्षेत्रमा एउटा सकारात्मक क्रान्तिको संकेत दिएको छ भने संघ–संस्थाबीचको सहकार्य र स्थानीय तहको संकल्पले गर्दा भविष्यमा अझ व्यापक तथा गुणस्तरीय सेवा दिन सकिने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाहरूले पनि सेवा सुरु हुनु पूर्वदेखि नै उत्साहका साथ सहभागी भई आफूहरूले घरमै सेवा पाउने आशामा उच्च आत्मसन्तुष्टि व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमलाई उदाहरणीय मान्दै अन्य गाउँपालिका तथा स्थानीय तहहरूले पनि यसलाई अनुकरणीय नमुनाको रूपमा ग्रहण गरी आफ्ना क्षेत्रमा यस्ता सेवा विस्तार गर्न प्रेरणा लिन सक्नेछन् । कालीगण्डकी गाउँपालिका पूर्तिघाटमा स्थापना गरिएको कालीगण्डकी आँखा उपचार केन्द्रले दिगो, पहुँचयुक्त र सर्वसुलभ दृष्टि सेवाको एउटा नयाँ अध्याय सुरु गरेको छ, जसले स्वास्थ्य सेवा विस्तारका राष्ट्रिय लक्ष्यहरूसँग गाउँ तहमा साक्षात्कार गराउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.