KhojSansar

बुटवलमा दुई दिने विशेष सरकारी सेवा शिविर सम्पन्न, १५० जनाले सेवा लिए– स्थानीय तहको पहुँचमै सेवा, पाका उमेरका नागरिकहरू खुशी

Khoj Sansar News

बुटवल, २६ साउन, गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–८ का स्थायी बासिन्दालाई लक्षित गरी बुटवलमा दुई दिने विशेष सरकारी सेवा शिविर सम्पन्न भएको छ। बुटवलमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकहरूलाई प्रशासनिक सेवा सहज बनाउने उद्देश्यले सञ्चालित उक्त शिविर शुक्रबार र शनिबार कालिकानगरस्थित दुनाटपरी कटेजमा सञ्चालन भएकाे थियाे।

वडा कार्यालयको अगुवाइमा सञ्चालित शिविरमा जन्म, मृत्यु दर्ता, बसाइँसराइ प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता नविकरण तथा जग्गाको तिरो तिर्ने जस्ता सेवा प्रदान गरिएको वडा अध्यक्ष होमबहादुर रानाले जानकारी दिए। “गाउँसम्म पुग्न नसक्ने, विशेष गरी पाका उमेरका नागरिकलाई लक्षित गरेर सेवा ल्याएका हौं,” उनले भने, “नजिकैबाट सेवा दिन पाउँदा हामीलाई पनि सन्तोष मिलेको छ।”

शिविरमा यस वर्ष १५० जनाले सेवा लिएको वडा सचिव विद्या भण्डारीले जानकारी दिइन्। उनका अनुसार, गत वर्ष ५५ जनाले सेवा लिएका थिए। यस वर्ष सहभागिता उल्लेख्य रूपमा बढेको छ। “यसले जनताको आवश्यकता झनै प्रष्ट देखाएको छ, आगामी दिनमा यस्तो कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजाने योजना छ,” उनले भनिन्।

कार्यपालिका सदस्य कमला पचभैया काउचाले सेवा शिविरको महत्त्वपूर्ण पक्षप्रति ध्यानाकर्षण गराउँदै भनिन्, “यसरी जनताको घरदैलोमै सेवा पुर्‍याउनु स्थानीय सरकारको मूल जिम्मेवारी हो। हामीले जनताको आवश्यकता बुझेर काम गरिरहेका छौं।”

शिविरबाट सेवा लिएकाे ९३ वर्षका रन बहादुर बुढाथाेकी उत्साहित थिए। उनले भने, “अब त गाउँ धाउने झन्झटै छैन, हाम्रो नजिकै यस्तो सेवा पाइयो भनेर ढुक्क लागेको छ। हामीजस्ता वृद्धवृद्धाका लागि यस्तो सेवा आशीर्वाद हो।”

वडा कार्यालयले आगामी दिनमा अझ बढी जनसहभागिता सुनिश्चित गर्दै यस्ता सेवा शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।कार्यक्रममा विभिन्न उमेर समूहका नागरिकको उपस्थिति देखिएको थियो। सेवा सहज र छरितो पाएका सेवाग्राहीहरूले वडा कार्यालयको प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए।

वडा कार्यालयले यस्ता शिविरमार्फत सरकारी सेवा सबै वर्गसम्म सहज रूपमा पुर्‍याउने उद्देश्य राखेको बताएको छ। सेवाग्राहीको उत्साहजनक सहभागिताले यस्ता अभियान अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। यस किसिमका पहुँचमुखी सेवा अभियानले नागरिक र प्रशासनबीचको सम्बन्ध मजबुत बनाउने मात्र होइन, सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता समेत बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.