KhojSansar

धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

Khoj Sansar News

तम्घास (गुल्मी), १० असोजः धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । धुर्कोटमा एउटा आधारभूत अस्पतालसहित छवटा स्वास्थ्यचौकी छन् ।

धुर्कोट–६ मा रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा विगत १५ वर्षदेखि ल्याब सेवा सञ्चालन भएरहेको छ । उक्त अस्पतालमा हाल दुई जना विशेषज्ञ चिकित्सकसमेत छन् । बाँकी रहेका छवटा स्वास्थ्यचौकीमा पछिल्लो समय ल्याब सेवा सुरु गरिएको हो ।

रजस्थलमा रहेको आधारभूत अस्पतालसहित नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु र वाग्ला स्वास्थ्यचौकी गरी सातवटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो ।

ल्याब सेवासहित सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर पनि सञ्चालन गरिएको छ । उक्त सेवा सञ्चालन भएसँगै सुत्केरी र गर्भवतीलाई सहज भएको छ । ल्याब सेवा सञ्चालनका लागि सबै स्वास्थ्य संस्थामा ल्याब असिस्टेनको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

वडामा ल्याब सेवा सुरु भएपछि स्थानीयलाई रगत, पिसाबगायत परीक्षण गर्न तम्घास अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । गर्भवतीसहित अन्य बिरामीको रगत परीक्षणलगायत सेवामा सहज भएको स्थानीय मीना क्षेत्रीले बताउनुभयो । “अब आफ्नै गाउँमा ल्याब सेवा लिन पाइने भयो, गर्भवतीलाई रगत जाँचका लागि कम्तीमा एकपटक तम्घास जानुपर्ने बाध्यता थियो, अब उक्त सेवा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ”, उहाँले भन्नुभयो ।

स्वास्थ्यचौकीबाट योभन्दा अगाडि चौबीसै घण्टा संस्थागत प्रसूति सेवा, खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोगको परीक्षण, सरकारले तोकेका औषधिको उपलब्धतालगायत सेवा प्रदान हुँदै आएको स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.