KhojSansar

तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

KhojSansar News

फुङ्लिङ (ताप्लेजुङ), ३ मङ्सिरः ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो ।    
    
 प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको व्यावसायिक घरहरू जलेर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी राजकुमारको रु ५० लाख बराबरको क्षति पुगेको छ । त्यस्तै, इन्द्रकुमारको रु ४३ लाख, अनिलको रु २० लाख र विष्णुप्रसादको रु पाँच लाख बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।    
    
 आगलागीका कारण इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाको २५ मन अलैँची पनि जलेर नष्ट भएको प्रजिअ सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वटा मोटरसाइकल, सुनचाँदी, नगद, पशुचौपाया, लत्ताकपडा, खाद्यान्नसहित आवश्यक कागजातसमेत जलेर नष्ट भएका छन् ।    
    
 रातिको समय भएकाले सामग्री निकाल्न नसकिएको र आगो नियन्त्रणका लागि दमकल तथा पानीको अभाव हुँदा क्षति बढेको स्थानीयले बताएका छन् । बिहान ५ः३० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पार्किङमा राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको प्रारम्भिक अनुमान गरिएको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    

सम्बन्धित समाचारः

  • गाउँपालिका द्वारा: लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

  • चक्रपथ निर्माण अन्तिम चरणमा

  • ‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

  • पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.