काठमाडौँ, २८ कात्तिक २०८३ । गौतम बुद्धको जन्मभूमि नेपालबाट शान्ति, अहिंसा र मानवताको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले गान्धी–मन्डेला फाउन्डेसनको नेपाल च्याप्टर औपचारिक रूपमा सुरु भएको छ ।
फाउन्डेसनले नेपाललाई विश्व शान्ति, सद्भाव र मानवीय सहकार्यको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ । फाउन्डेसनका उपाध्यक्ष गणेश केसीका अनुसार नेपाल च्याप्टरले गौतम बुद्ध, महात्मा गान्धी र नेल्सन मन्डेलाको शान्ति, अहिंसा, समानता र मानवताको दर्शनलाई नेपालसँग जोडेर अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने छ ।
‘नेपाल गौतम बुद्धको जन्मभूमि हो । बुद्धको शान्ति र करुणाको सन्देश विश्वभर फैलिएको छ । त्यसलाई गान्धी र मन्डेलाको अहिंसा, समानता तथा मेलमिलापको दर्शनसँग जोडेर नयाँ पुस्तामाझ पुर्याउनु प्रमुख उद्देश्य हो,” उहाँले भन्नुभयो । गौतम बुद्धले शान्ति र करुणाको बाटो देखाउनुभयो । महात्मा गान्धीले सत्य र अहिंसालाई सामाजिक तथा राजनीतिक परिवर्तनको माध्यम बनाउनुभयो । नेल्सन मन्डेलाले समानता, स्वतन्त्रता र मेलमिलापका लागि लामो सङ्घर्ष गर्नुभयो । यी तीन व्यक्तित्वका विचारलाई साझा मानवतावादी मूल्यका रूपमा अघि बढाउने लक्ष्य फाउन्डेसनले लिएको छ ।
भारतको नयाँ दिल्लीमा मुख्यालय रहेको गान्धी–मन्डेला फाउन्डेसनले विभिन्न देशमा शान्ति, मानव अधिकार, सामाजिक न्याय र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा काम गर्दै आएको जनाएको छ । नेपाल च्याप्टरले विशेष गरी नेपाल–भारतबिचको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने भएको छ ।
नेपाल च्याप्टरले आगामी दिनमा ‘बुद्ध, गान्धी र मन्डेला शान्ति’ संवाद आयोजना गर्ने तयारी गरेको छ । यसै गरी विभिन्न देशबिच कला, संस्कृति, भाषा, साहित्य र परम्पराको आदानप्रदानका लागि अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने छ । फाउन्डेसनले नेपालको ऐतिहासिक तथा आध्यात्मिक पहिचानलाई विश्व समुदायसँग जोडेर नेपाललाई शान्ति र मानवीय सहकार्यको अन्तर्राष्ट्रिय मञ्चका रूपमा विकास गर्न सकिने विश्वास लिएको छ ।