KhojSansar

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

Khoj Sansar News

काभ्रेपलाञ्चोक, १४ साउनः डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाउनुभएकी उहाँलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले बताउनुभयो ।

यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो । महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन् । वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ ।

पालिका अध्यक्ष जिम्बाले दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका जानकारी दिनुभयो । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.