KhojSansar

विपद् व्यवस्थापनका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड

Khoj Sansar News

काठमाडौँ, १६ साउनः विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका लागि आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित अन्तरक्रियामा सहभागीहरूले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय बढाउनुपर्ने बताउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाग्मती प्रदेशसभाका सांसद एवं एमाले विपद् व्यवस्थापन विभाग प्रमुख डा राजेन्द्रमान श्रेष्ठले नेपाल विपद्को उच्च जोखिममा रहेको जनाउँदै विपद्सम्बन्धी सचेतना कार्यक्रमलाई योजनाबद्ध रूपमा विस्तार गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले क्षति न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा पूर्वतयारी जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बाग्मती प्रदेशसभाका सदस्य एवं राप्रपाका विपद् व्यवस्थापन विभाग प्रमुख उद्धव थापाले विपद् उद्धारमा सशस्त्र प्रहरी बल नेपालले देखाएको उच्च साहसले आमजनतामा विश्वासको वतावरण बनाएको उल्लेख गर्नुभयो । जनताले सशस्त्र प्रहरी बलको उच्च मूल्याङ्कन गरिरहेका बताउँदैै उहाँले विपद् उद्धारमा सुरक्षा निकाय तथा राजनीतिक दलको संयुक्त प्रयास आवश्यक पर्ने बताउनुभयो ।

नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपद् न्यूनीकरणका लागि समुदायस्तरमा दिइने स्वयंसेवकसम्बन्धी तालिम प्रभावकारी हुने बताउँदै स्थानीय तहमा साना दराजमा विपद्का प्राथमिक सामाग्री राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रत्येक वडामा कम्तीमा एक सय जनशक्तिलाई विपद् व्यवस्थापन तालिम दिन आवश्यक रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले विपद्मा पूर्वसूचना महत्त्वपूर्ण हुने भएकाले पूर्वजानकारी दिन सकेमा जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । विपद्सम्बन्धी पूर्वसूचनामा केन्द्रित हुन जरुरी रहेको बताउँदै उहाँले विपद्पछि उद्धार कार्यमा पहिलो उद्धारक स्थानीय व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने भएकाले स्थानीयस्तरमा स्वयंसेवक उत्पादनका लागि सशस्त्र प्रहरी बल नेपालले गरेको कार्य स्वागतयोग्य रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वातावरण विभागका नारायण काफ्लेले विपद् व्यवस्थापन जोखिम न्यूनीकरण तथा रोकथामका लागि स्थानीय संरचना बलियो बनाउन जरुरी रहेकामा जोड दिनुभयो । उहाँले सुरक्षाकर्मीलाई थप आवश्यक उपकरण उपलब्ध गराई उच्च मनोवलकासाथ अझ प्रभावकारी परिचालन गर्न सकिने धारणा राख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विपद् व्यवस्थापन विभाग प्रमुख विष्णुकुमार श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरी बलले गरेको उद्धार कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले न्यूनतम स्रोतसाधनका बाबजुद पनि उच्च मनोबलले उद्धार कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । जसपा नेपालका माधवप्रसाद देवले प्राकृतिक प्रकोप घटना न्यूनीकरणका लागि नीतिगत सुधारको जरुरी रहेको बताउँदै अव्यवस्थित विकास निर्माणलाई व्यवस्थित गर्नुपर्ने तथा मानवीय विकासले विनाश निम्त्याएकोतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका वातावरण विभाग प्रमुख लक्ष्मणलाल कर्णले हिमालमा हिमपहिरो, पहाडमा पहिरो तथा बाढी र मधेसमा सुक्खा तथा खानेपानीको अभावजस्ता विपद् आइपर्ने भएकाले ठाउँअनुसार तयारी जरुरी रहेको बताउनुभयो ।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले समुदायलाई सचेत बनाउँदै उद्धार कार्यमा सहभागी गराउँदा विपद् जोखिम न्यूनीकरण प्रभावकारी हुने उल्लेख गर्नुभयो । उहाँले समुदायसँगको समन्वय तथा सहकार्यमा विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै विपद्बाट हुने जनधनको क्षति कम गर्न राजनीतिक दलको भूमिका समुदायस्तरमा समन्वयात्मक बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

सशस्त्रको कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समन्वय गरेर विपद् व्यवस्थापन कार्य गरिरहेको जनाउँदै समुदायलाई सचेत गराउने कार्यमा राजनीतिक दलसँगको समन्वय र सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल नेपालको क्षमता, हाल उपलब्ध साधनस्रोत, जनशक्ति तथा विभिन्न घटनामा गरिएका उद्धारबारेमा प्रस्तुतीकरण दिनुभएको थियो । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.