KhojSansar

विश्वकप फाइनल : कहाँ चुक्यो न्युजिल्यान्ड, कसरी फेर्‍यो भारतले रणनीति ?

Khoj Sansar News

काठमाडौं, २५ फागुन २०८२ । एक लाख ३० हजार क्षमताको नरेन्द्र मोदी रंगशालामा उपस्थित दर्शकको लगातारको समर्थन सायद न्युजिल्यान्डका खेलाडीका निम्ति दबाब बन्न पुग्यो । ट्वान्टी–२० विश्वकपको रोचक ठानिएको फाइनलमा न्युजिल्यान्डले टस जित्नुबाहेक अरू कुनै प्रभावकारी प्रदर्शन गर्न सकेको देखिएन ।

विश्वकपको एकपक्षीयजस्तो देखिएको फाइनलमा न्युजिल्यान्डले रचेको रणनीति कहाँ असफल भयो तथा भारतको रणनीति कसरी सफल भयो ?

१. न्युजिल्यान्डले म्याकोन्चीभन्दा निशमलाई रोज्नु
नरेन्द्र मोदी रंगशालामा फाइनलका निम्ति बीचभागको पिच प्रयोग गरिएको थियो । रातो र कालो माटो मिसिएको यो विकेट बाउन्सका निम्ति चिनिन्छ । पिचले स्पिनरलाई धेरै सहयोग गर्दैन । त्यसैले प्रतियोगितामा खासै प्रभाव नपारे पनि न्युजिल्यानडले ज्याकोब डफीलाई टोलीमा समावेश गर्नु सम्भवतः सही निर्णय थियो ।

तर, टोलीले कोल म्याकोन्जीलाई हटाएर जिम्मी निशम छान्नु सही निर्णय देखिएन । जबकि, म्याकोन्जीले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध एउटा ओभरमा खेलको दिशा नै बदलिदिएका थिए ।

यस विश्वकपमा भारतका अभिषेक शर्मा तीनपटकसम्म अफ स्पिनरको पहिलो ओभरमै आउट भएका थिए । तर, यसपटक उनले ग्लेन फिलिप्सका बलहरू सम्हालेर खेल सुरु गरे । गति बढाएपछि न्युजिल्यान्डले उनलाई रोक्न सकेन । टोलीसँग अर्को अफ–स्पिनरको विकल्प पनि थिएन ।

२. म्याट हेनरीलाई एक ओभरपछि हटाउनु
भारतले सावधानीपूर्वक सुरुआत गर्‍यो र पहिलो दुई ओभरमा १२ रन मात्र बनायो । त्यसपछि कप्तान मिचेल सान्तनरले म्याट हेनरीलाई हटाएर डफीलाई बलिङ दिए ।

डफी उत्कृष्ट बलर भए पनि यस विश्वकपमा उनको प्रदर्शन खास थिएन । सम्भवतः स्यान्टनरले भारतीय ब्याटरले गति बढाउनुअघि डफीको एक ओभर सकाउन खोजेका वा बलिङमा विविधता ल्याउन खोजेका थिए ।

तर, यो निर्णय गलत साबित हुन पुग्यो । उक्त ओभरमा १५ रन गयो भने अभिषेकले लय समाउन समय पाए । पाँचौँ ओभरमा हेनरी पुनः बलिङमा ल्याइए । तर, त्यतिन्जेल भारतले चार ओभरमा ५१ रन पुर्‍याएर गति मज्जाले बढाइसकेको थियो ।

३. धेरै वाइड तर परिणामविहीन
अफ स्टम्पबाहिर बलिङ गर्नु आक्रमणकारी ब्याटिङ रोक्ने सामान्य रणनीति हो । तीन वाइड र एक डट बल कहिलेकाहीँ चौकाभन्दा राम्रो मानिन्छ ।

तर, न्युजिल्यान्डले यो रणनीति धेरैपटक प्रयोग गर्‍यो । डफीले तेस्रो ओभरमा एक वाइड, लक्की फेर्गुसनले चौथो ओभरमा तीन र हेनरीले पाँचौँ ओभरमा चार वाइड फाले । आठमध्ये तीन लेग साइडमा थिए । बाँकी योजनाअनुसार अफ साइडमा ।

तर, यो रणनीतिले कुनै प्रभाव पार्न सकेन । पावर प्लेपछि भारत विनाविकेट ९२ रनमा पुगिसकेको थियो । खेलमा भारतको नियन्त्रण बनिसकेको थियो । न्युजिल्यान्डले त्यसपछि इनिङ्सभर एकपटक पनि वाइड फालेन ।

४. स्लोअर बलको अत्यधिक प्रयोग
सुरुआती ओभरहरूमा न्युजिल्यान्डले स्लोअर बल पनि धेरै प्रयोग गर्‍यो । डफीले तेस्रो ओभरमा एक, फग्र्युसनले चौथोमा दुई र हेनरीले पाँचौँमा दुई स्लोअर बल फाले ।

यीमध्ये दुई वाइड भए र बाँकी तीन भारतीय ओपनरले सजिलै पढेर चौका–छक्का प्रहार गरे । पाँचौँ ओभरपछि स्लोअर बल कुनै ‘सरप्राइज’ रहेन । त्यसपछि न्युजिल्यान्डका पेसरहरूले यसलाई दोहोर्‍याएनन् ।

५. अन्तिम ओभरमा निशम ल्याइनु
१५ ओभरपछि भारत २०३–१ बलियो स्थितिमा पुगिसकेको थियो । र, ठूलो स्कोरतर्फ बढिरहेको थियो । तर, १६औँ ओभरमा निशमले तीन विकेट लिएर भारतको गति रोक्ने काम गरे । डफीले पनि राम्रो ओभर गरे ।

१७ ओभरमा २११–४ को स्थितिमा रहेको भारत निशमको १८औँ ओभरको बलिङपछि २२०–४ सीमित भयो । तर, त्यसपछि स्यान्टनरले हेनरीलाई प्रयोग गरे र भारत फेरि २३१–४ को स्थितिमा पुग्यो ।

अन्तिम ओभरका निम्ति विशेषज्ञ फग्र्युसन वा डफी हुँदा हुँदै निशमलाई बलिङ दिनु स्यान्टनरको जोखिमपूर्ण निर्णय थियो । र, त्यो टोलीका निम्ति भारी साबित भयो ।

६. अक्षर पटेलको प्रयोग
दुई खेलअघि भारतीय कप्तान सूर्यकुमार यादवले अक्षर पटेललाई सुरुआतमै बलिङ दिँदै लगातार तीन ओभर गराएका थिए ।

फाइनलमा पनि उनले तेस्रो ओभरमै अक्षरलाई ल्याए र न्युजिल्यान्डका खतरनाक खेलाडी मानिएका फिन एलेन तथा ग्लेन फिलिप्सलाई आउट गरे ।

त्यसपछि पनि न्युजिल्यान्डले ब्याटिङ अर्डर परिवर्तन गरेर बायाँहाते ब्याटर पठाउने प्रयास गरेन । रचिन रवीन्द्र आउट भएपछि पनि दायाँहाते ब्याटरहरू पठाइयो । जब स्यान्टनर र निशम जस्ता बायाँहाते आए, त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।

७. बुमराहको सही प्रयोग 
विश्वकै उत्कृष्ट बलर हुनुले मात्रले जित सुनिश्चित हुँदैन । उसलाई चार ओभर कहाँ कसरी बलिङ गराउने भन्ने महत्त्वपूर्ण हुन्छ ।

भारतले सामान्यतया जसप्रित बुमराहलाई सुरुमा एक/एक ओभरको दुई स्पेलमा प्रयोग गरेर अन्तिम दुई ओभरका निम्ति साँच्ने गर्छ । यसपालि फाइनलमा पाँच ओभरमै तीन विकेट प्राप्त भइसकेको अवस्थामा प्रशिक्षक गौतम गम्भीरले क्यामेरामार्फत कप्तान बुमराहलाई दोस्रो ओभर तुरुन्तै बलिङ गर्न संकेत गरे ।

त्यसको उद्देश्य १५ बलमा ३१ रन बनाइरहेका टिम सेफर्टलाई रोक्नु थियो । बुमराहले उनलाई आउटचाहिँ गर्न सकेनन् । तर, उक्त ओभरमा पाँच रन दिए । न्युजिल्यान्डको आवश्यक रनरेट १४.५७ पुग्यो । अनि, टोली थप दबाबमा पर्न गयो ।

यो दबाब झेल्न नसकेपछि विकेट झर्ने क्रम रोकिएन । अन्ततः टोलीले फराकिलो फाइनल हार व्यहोर्न बाध्य भयो ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.