KhojSansar

अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित

Khoj Sansar News

सिमकोट (हुम्ला), १७ साउनः यहाँको सिमकोट गाउँपालिका-७ थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन गर्दै आएका किसानले पालेका मौरी अज्ञात रोगका कारण मर्न थालेपछि चिन्तित बनेका हुन् ।

सिमकोट-७ थाया गाउँमा एक साता अघिदेखि मौरीमा अज्ञात रोग देखिएपछि मौरी मर्न थालेका किसान बताउँछन् । व्यावसायिक पालन गर्दै आउनुभएका भैरे सिंहले एउटा घारका मौरी मरेका बताउँदै के कारणले मरेका हुन् जानकारी प्राप्त नभएको जानकारी दिनुभयो ।

मौरीले यतिबेला वनबाट फूल ल्याएर मह उत्पादन गर्ने समय भएको छ । अचानक घारमै मौरी मर्न थालेपछि चिन्तित बनाएको छ । केकति कारणले मौरी मरिरहेका छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन”, किसान वीरबहादुर सिंहले भन्नुभयो । आफ्नो तीनवटा र किसान सिंहको एउटा घारका मौरी मरेका उहाँले जानकारी दिनुभयो ।

पहिचान नभएको रोगका कारण मौरी धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । मौरी घारभित्र र बाहिर मर्नुको कारण तथा रोग पत्ता लगाएर समाधान खोजीदिन किसानले सरोकार भएका निकायसँग आग्रह गरेका छन् ।

मह उत्पादनको समयमा मौरी मर्न थालेपछि उत्पादन घट्नुका साथै व्यवसायसमेत धराप हुने भन्दै किसान निराश भएका हुन् । थायामा मात्रै नभएर यो समस्या जिल्लाभरका मौरीपालन व्यवसायमा देखिएको भन्दै सिंहले रोग पत्ता लगाइदिन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । मौरी जोगाउन र मौरीपालक किसानको हौसला बढाउन तीनै तहका सरकारले चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मौरीपालन गर्ने घट्दै जानु, जङ्गलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु, समयानुकूल घारमा सुधार नहुनुलगायत कारणले यस्ता समस्या देखिएको हुनसक्ने पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख नवीन पौडेलले बताउनुभयो ।

एक साताअघि मौरीमा अज्ञात रोग देखिएको किसानले जानकारी गराएका जनाउँदै उहाँले जानकारी पाउनासाथ रोगको पत्ता लगाउन गाउँमा कर्मचारी खटिएका बताउनुभयो । हालसम्म रोग पत्ता लागिनसकेकाले विज्ञ टोली परिचालन गरिने उहाँले उल्लेख गर्नुभयो ।

हुम्लामा एक माना महको रु एक हजार २०० पर्दछ । यहाँका अधिकांश किसानले मौरी व्यवसायमार्फ परिवारको खर्च व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय मौरी मर्न थालेपछि कसरी खर्च जुटाउने भन्ने चिन्ता लाग्न थालेको किसान बताउँछन् । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.