KhojSansar

किसानलाई स्यालो ट्युबवेल वितरण गर्दै मधेस प्रदेश सरकार

Khoj Sansar News

धनुषा, १८ साउनः मधेस प्रदेश सरकारले सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिनुभयो । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार २०० स्यालो ट्युबवेल वितरण गरिने उहाँले बताउनुभयो ।

एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि रु तीन लाखसम्म खर्च हुने प्रवक्ता चौधरीले बताउनुभयो । सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा पानीको सतह (गहिराइ) कति छ त्यसको आधारमा खर्च लाग्ने उहाँको भनाइ छ ।

सूचना जारी भएसँगै अहिले कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको घुइँचो लागेको छ । केन्द्रका कृषि प्राविधिक गणेश अधिकारीले शुक्रबारसम्म एक हजार १०० भन्दा बढी आवेदन प्राप्त भएको उहाँले जानकारी दिनुभयो । निवदेन बुझाउने समय आजसम्म रहेकाले यो सङ्ख्या अझै बढ्छ ।

प्राविधिक अधिकारीले कार्यालयले उपलब्ध गराउने स्यालो ट्युबवेलभन्दा बढी सङ्ख्यामा निवेदन प्राप्त भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालसँग दुई सयको हाराहारीमा स्यालो ट्युबवेल जडान गर्ने बजेट छ । तर निवदेन त्यसको दोब्बर प्राप्त भएको छ ।”

प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाइने अधिकारीले बताउनुभयो । यस वर्ष पर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको हो । शुक्रबार आवेदन दिन आउनुभएका क्षीरेश्वरनाथ नगरपालिका–९ दिगम्बरपुरका रामबाबु महतोले लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष समयमा पानी परेन, खेत सबै सुक्खा छ ।”

कृषि ज्ञान केन्द्र धनुषाले यही साउन १२ गते सूचना प्रकाशित गरेर सात दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । आवेदन पेस गर्न किसानसँग नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि, जडान गर्ने कित्ताको प्रमाणित नक्सालगायत कागजात माग गरेको छ । एउटा स्यालो ट्युबवेल लिन दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने प्रावधान छ । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.