काठमाडौँ, १६ कात्तिक २०८३ । ‘फोहोरमै रमाउने जनावर’ भन्दै नाक खुम्च्याइने बङ्गुरपालनको पहिचान अहिले फेरिएको छ । सामाजिक अपहेलना र परम्परागत घेरा तोड्दै यो व्यवसाय व्यवस्थित खोर, वैज्ञानिक दाना र आधुनिक प्रविधिसँग जोडिएको छ । कुनै बेला तिरस्कृत मानिएको यही पेसा अहिले धेरैका लागि मनग्गे आम्दानी र समृद्धिको बलियो आधार बनेको छ ।
बङ्गुरलाई जुठोपुरो खुवाउने परम्परागत शैलीलाई सन्तुलित दाना, नियमित स्वास्थ्य परीक्षण र वैज्ञानिक व्यवस्थापनले विस्थापित गर्दै छ । यसले बङ्गुरका मासुका उपभोक्तालाई समेत वृद्धि गराएको पशु प्राविधिक उद्धवप्रसाद सापकोटा बताउनुहुन्छ । पशुपालनको एउटा परम्परागत पाटोका रूपमा हेरिँदै आएको बङ्गुरपालन अहिले आधुनिक प्रविधि, उच्च सरसफाइ र व्यावसायिक व्यवस्थापनसहित आकर्षक उद्यमका रूपमा विकास भइरहेको छ ।
बङ्गुरपालनप्रतिको सामाजिक दृष्टिकोणमा आएको परिवर्तनसँगै यस व्यवसायमा नयाँ पुस्ताको आकर्षण पनि बढ्न थालेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवादेखि व्यावसायिक किसानसम्म बङ्गुरपालनमा लगानी गर्न थालेका छन् । नेपालका मात्र हैनन्, चीन र कोरियाबाट व्यवसायी नेपाल आएर बङ्गुरपालन व्यवसाय गरिरहेका छन् । किसान सङ्गठित भएर पेसाको प्रवर्धन, नस्ल सुधार र उत्पादन वृद्धिका लागि पहल गरिरहेका छन् ।
व्यावसायिक बङ्गुरपालक किसान दिलीप हमालले बङ्गुरपालनलाई व्यवस्थित बनाउन अहिले खोरको सरसफाइ, सन्तुलित आहार, जैविक सुरक्षा र नियमित स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन थालिएको दाबी गर्नुभयो । पोल्ट्री व्यवसायमा अपनाइने जस्तै सरसफाइ र जैविक सुरक्षाका उपाय बङ्गुर फार्ममा पनि लागु गर्न थालिएपछि यो व्यवसायको स्वरूप नै बदलिएको उहाँ बताउनुहुन्छ ।
कृषि तथा कृषिजन्य उद्योगबाट निस्कने केही उत्पादनलाई उपयुक्त प्रशोधन र व्यवस्थापनपछि आहाराका रूपमा प्रयोग गर्न सकिने भएकाले आहारा व्यवस्थापनमा पनि विकल्प उपलब्ध हुन्छन् । मासुका अतिरिक्त पाठापाठी बिक्रीबाट समेत किसानले आम्दानी लिन सक्ने उहाँले उल्लेख गर्नुभयो ।
बङ्गुरपालनमा सम्भावना जति छ, चुनौती पनि उत्तिकै छन् । रोगको सङ्क्रमण, अव्यवस्थित खोर र कमजोर जैविक सुरक्षाले किसानको लगानी जोखिममा पार्न सक्छ । अफ्रिकन स्वाइन फिभर, बङ्गुरको हैजा, इन्जुटिक निमोनिया, प्लुरोनिमोनिया, पिआरआरएसलगायत श्वासप्रश्वाससम्बन्धी रोगले बङ्गुरको स्वास्थ्य र उत्पादनमा असर पार्न सक्छन् । त्यसैले रोगको लक्षण, सङ्क्रमणको जोखिम, नियमित खोप तथा जैविक सुरक्षाबारे किसानलाई जानकारी गराउनु आवश्यक रहेको पशु चिकित्सकको जोड छ ।
बङ्गुरको गर्भ जाँच्न भिडियो एक्सरे
भिडियो एक्सरे अर्थात् अल्ट्रासोनोग्राफी प्रविधि अब बङ्गुरमा पनि प्रयोग गर्न थालिएको छ । पशु स्वास्थ्य परीक्षणमा प्रविधिको प्रयोग विस्तार गर्ने क्रममा बङ्गुरमा गरिएको यो अभ्यासले प्रजनन व्यवस्थापनमा नयाँ सम्भावना देखाएको छ ।
पशु चिकित्सक डा. रवीन्द्र बस्ताकोटीका अनुसार नेपालमा बङ्गुरमा भिडियो एक्सरे प्रयोग गरिएको यो नयाँ अभ्यास हो । चित्रोवन एकीकृत कृषि तथा एकीकृत व्यावसायिक फार्म भरतपुर महानगरपालिका–१८ को बङ्गुर फार्ममा गरिएको परीक्षणबाट गर्भाशयभित्र रहेका पाठापाठीको अवस्था, सङ्ख्या र सम्भावित जटिलताबारे जानकारी लिइएको उहाँले बताउनुभयो ।
हालसम्म सरकारी निकायबाट यसरी भिडियो एक्सरेमार्फत जाँच गरिएको थिएन । यसअघि नवलपरासीमा चिनियाँ व्यवसायीले सञ्चालन गरेको बङ्गुर फार्ममा यो प्रविधिको प्रयोग गरिएको थियो । बङ्गुरमा सुत्केरी हुने समयको व्यवस्थापन, पोषणको आवश्यकता पहिचान र सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । गर्भावस्थामै पाठापाठीको अवस्था थाहा पाउन सकिए जन्मिने बेलामा आवश्यक जनशक्ति र व्यवस्थापनको तयारी गर्न सकिन्छ ।
स्थानीयदेखि उन्नत नस्लसम्म
नेपालमा परम्परागत रूपमा विभिन्न स्थानीय जातका बङ्गुर पालिँदै आएका छन् । चोन्चे, हुर्रा, बामपुड्के, जङ्गली बँदेल, पाख्रीबास, पिग्मी बँदेल र धराने कालो बङ्गुर नेपालमा पाइने स्थानीय जात हुन् । स्थानीय वातावरणमा घुलमिल हुन सक्ने, कम व्यवस्थापनमा पनि पाल्न सकिने र स्थानीय आहारामा अनुकूल हुने भएकाले यी जातको आफ्नै महत्व छ ।
त्यस्तै व्यावसायिक उत्पादनका लागि ल्यान्डरेस, योर्कसायर, ह्याम्पसायर, टेमवर्थ, ड्युरोक, मेगसान र नागपुरीलगायत उन्नत जातका बङ्गुर पाल्ने क्रम बढेको छ । मासु उत्पादन, छिटो वृद्धि र प्रजनन क्षमताका आधारमा किसानले उन्नत जातप्रति चासो देखाउन थालेका छन् ।
नेपालमा १४ लाख ८० हजार ८३२ बङ्गुर पालिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले उल्लेख गरेको छ । नेपालमा वार्षिक ३८ हजार ९७२ मेट्रिक टन मासु उत्पादन हुन्छ । मासुको माग बढ्दै जानु र बजारमा यसको व्यावसायिक सम्भावना देखिनुले बङ्गुरपालनप्रति किसानको आकर्षण बढाएको छ ।
बङ्गुरमा कृत्रिम गर्भाधान
बङ्गुरपालनलाई आधुनिक र उत्पादनमुखी बनाउने प्रयासमा अर्को महत्वपूर्ण प्रविधि कृत्रिम गर्भाधान पनि थपिएको छ । पशु चिकित्सक डा. मनोजकुमार शाहीका अनुसार बङ्गुरमा कृत्रिम गर्भाधानको प्रयोगले प्रजनन व्यवस्थापनलाई सहज बनाउनुका साथै उन्नत नस्ल विकास र उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
प्राकृतिक प्रजननमा एउटा भाले बङ्गुरले सीमित सङ्ख्यामा पोथीलाई मात्र सेवा दिन सक्छ तर कृत्रिम गर्भाधानमा उन्नत जातको भालेबाट सङ्कलन गरिएको वीर्यलाई प्रशोधन तथा उचित भण्डारण गरेर धेरै पोथी बङ्गुरमा प्रयोग गर्न सकिन्छ । यसले एउटै भालेको प्रजनन क्षमताबाट धेरै किसानले लाभ लिन सक्ने अवस्था सिर्जना गर्छ ।
परम्परागत पेसाबाट प्रविधिमैत्री उद्यम
बङ्गुरपालनमा अल्ट्रासाउन्ड, कृत्रिम गर्भाधान, उन्नत नस्ल र वैज्ञानिक स्वास्थ्य व्यवस्थापनको प्रयोग बढ्दै जानुले यो व्यवसायमा आएको परिवर्तनलाई स्पष्ट पारेको डा. शाहीले बताउनुभयो । बङ्गुरपालन केवल जनावर पालेर मासु उत्पादन गर्ने काममा सीमित नभएर पशु प्रजनन विज्ञान, स्वास्थ्य परीक्षण, पोषण व्यवस्थापन र बजारको माग अनुसार उत्पादन गर्ने व्यावसायिक प्रणाली जोडिँदै गएको उहाँले बताउनुभयो ।