KhojSansar

तिहारका लागि दुई बिघा जग्गामा सयपत्री फूलखेती, १० हजार किलो उत्पादन हुने

Khoj Sansar News

नेपालगन्ज, १६ कात्तिक २०८३ । तिहारका बेला फूलको माग अत्यधिक हुने गरेकाले त्यसलाई पूरा गर्ने उद्देश्यले नेपालगन्जका तीन जना युवाले बाँकेको नरैनापुरमा दुई बिघा जग्गामा व्यावसायिक रूपमा सयपत्री फूलखेती गरेका छन् ।

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका–५, मटेहियामा नेपालगन्ज उपमहानगरपालिका–६, फुलटेक्राका सुवाष जंग शाह, कृतिराज दीक्षित र सुशीलकुमार मौर्यले करिब १० लाख रुपियाँ लगानीमा दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको हो ।

तीन युवामध्ये शाह मेकानिकल इन्जिनियर हुनुहुन्छ भने मौर्य बैंकका पूर्वकर्मचारी र दीक्षित बहालवाला सरकारी शिक्षक हुनुहुन्छ ।

तिहारका बेला ताजा फूल नपाउँदा भारतबाट ल्याइएका बासी फूलमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरूले सामूहिक रूपमा फूलखेती गरेको सुवाष जंग शाहले बताउनुभयो । उहाँका अनुसार उत्पादित फूल बिक्रीका लागि तयार भइसकेका छन् भने विभिन्न ठाउँबाट मागसमेत आउन थालेको छ ।

अहिले बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा तथा बर्दियाको गुलरियाका साथै काठमाडौं, सुर्खेत र दाङबाट समेत फूलको माग आइरहेको शाहले जानकारी दिनुभयो । उहाँले दिनप्रतिदिन माग बढ्दै गएको बताउनुभयो ।

दुई बिघा क्षेत्रफलमा १२ हजार सयपत्रीका बिरुवा रोपेर गरिएको खेतीबाट करिब १० हजार किलो फूल उत्पादन हुने अनुमान गरिएको शाहले बताउनुभयो ।

फूल बिक्रीका लागि तयार भइसकेको जनाउँदै खेतीमा संलग्न अर्का युवा कृतिराज दीक्षितले तिहारका बेला नेपालगन्जका चार र कोहलपुरका तीन स्थानमा बिक्री स्टल राखेर सुलभ मूल्यमा ताजा फूल बिक्री गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार फूल खरिद गर्न चाहने ग्राहकलाई अर्डरअनुसार घरसम्मै पुर्‍याउने व्यवस्था पनि मिलाइएको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउँदै भारतीय फूलमाथिको निर्भरता घटाउने उद्देश्यले फूलखेती सुरु गरिएको दीक्षितले बताउनुभयो ।

त्यस्तै, अर्का युवा सुशीलकुमार मौर्यका अनुसार तिहारमा घर, आँगन र पसल सजाउन तथा लक्ष्मीपूजामा प्रयोग हुने सयपत्री फूलको माग उल्लेख्य हुने गर्छ । यसअघि तिहारका बेला भारतीय फूलमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय उत्पादनबाटै माग पूरा गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो । आगामी वर्षदेखि फूलखेती विस्तार गर्ने योजना रहेको मौर्यले जानकारी दिनुभयो ।

यसैबिच, नरैनापुर गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा गरिएको फूलखेतीको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले व्यावसायिक फूलखेती गर्ने कृषकलाई प्रोत्साहन गर्न गाउँपालिकाले विशेष योजना ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्रभावकारी बजार व्यवस्थापन गर्न सके आगामी वर्षमा फूलखेती विस्तारको सम्भावना रहेको गाउँपालिकाले जनाएको छ । तस्बिर : सिराज खान

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.