KhojSansar

बाँझो बारी बन्यो पर्यटकीय गन्तव्य

Khoj Sansar News

तनहुँ, ९ कात्तिक २०८३  । बर्सौंसम्म खर र वनमाराका झाडीले ढाकिएको बाँझो बारी अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा उपयोगविहीन जमिनलाई हरित पार्क, जडीबुटी उद्यान र रिसोर्टमा रूपान्तरण गरिएपछि पर्यटकको चहलपहल बढेको हो । केही वर्ष पहिलेसम्म झाडीले ढाकिएको जमिन अहिले विभिन्न प्रजातिका जडीबुटी, फलफूलका बोटबिरुवा र मनोरम उद्यानले हराभरा बनेको छ । 

निजी क्षेत्रको लगानीमा विकसित यो क्षेत्र आन्तरिक पर्यटकका लागि घुमघाम, मनोरञ्जनसँगै जडीबुटी तथा वनस्पतिबारे जानकारी लिने गन्तव्यसमेत बनेको छ । झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक वासुराज दाहालका अनुसार करिब एक करोड ५० लाख रुपियाँ लगानी गरेर बाँझो जमिनलाई कृषि पर्यटनसँग जोडिएको हो । प्राकृतिक वातावरणको संरक्षण, जैविक विविधताको प्रवर्धन र स्थानीय पर्यटन विकास गर्ने उद्देश्यले पार्क, जडीबुटी उद्यान तथा आवासीय संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । दाहालले भन्नुभयो, “बर्सौंदेखि उपयोगविहीन भएको जमिनलाई उत्पादनशील र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सोचले काम सुरु गरेका हौँ । जमिनको सदुपयोगसँगै प्रकृति संरक्षण, जडीबुटीको महìवबारे जानकारी र पर्यटन प्रवर्धनमा योगदान पु-याउने हाम्रो उद्देश्य हो ।”

यहाँको मुख्य आकर्षण गौरादेवी प्राकृतिक जडीबुटी उद्यान बनेको छ । उद्यान करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, निम, बोझो, टिमुर र लौठसल्लालगायत दुई सयभन्दा बढी प्रजातिका जडीबुटी हुर्काइएका छन् । उद्यानपरिसरमा ५० भन्दा बढी प्रजातिका फलफूलका बोटबिरुवा लगाइएका छन् । बालबालिकालाई आकर्षित गर्न हात्ती, गैँडा, बाघ र घोडाका मूर्ति तथा बालउद्यान निर्माण गरिएको छ । हरियाली वातावरण, पारिवारिक जमघट, क्याम्प फायर, वातानुकूलित आवास तथा कालिज र स्थानीय कुखुराका परिकारले पनि पर्यटकलाई आकर्षित गरेका छन् ।

उद्यान सञ्चालक समितिका सदस्य उज्ज्वल पौडेलका अनुसार हालसम्म १५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरिसकेका छन् । सामान्य समयमा दैनिक औसत ८० जना आउने गरेकामा पछिल्लो समय पर्यटकको सङ्ख्या दोब्बर भएको उहाँले जानकारी दिनुभयो । 

पौडेलले भन्नुभयो, “दसैँ, तिहारलगायत चाडपर्वको बिदाको अवसर पारेर परिवार र बालबालिकासहित घुम्न आउनेको चहलपहल बढेको छ ।” पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने सडक हुँदै करिब साढे दुई किलोमिटर दुरीमा रहेको झाँगाझोलीसम्म कालोपत्रे सडक पुगेको छ । सहज यातायात पहुँच र प्राकृतिक वातावरणका कारण छोटो समयको पारिवारिक घुमघामका लागि समेत यो स्थान रोजाइमा पर्न थालेको छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.