KhojSansar

६४ करोड ५० लाख रुपियाँको कारोबार हुने अनुमान

Khoj Sansar News

काठमाडौं, २० कात्तिक २०८३ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै यस वर्ष फूलको कारोबार ६४ करोड ५० लाख रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका अनुसार तिहारमा फूलका माला, सयपत्रीका बोट तथा गोदावरीका गमलासहितको कारोबारबाट उक्त रकम बराबरको आर्थिक गतिविधि हुने अपेक्षा गरिएको हो ।

एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष तिहारमा सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर तयार गरिएका करिब ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ । यसबाहेक घर, कार्यालय तथा व्यावसायिक परिसर सजाउन प्रयोग हुने फूलका पोली र गमलाको बिक्री पनि उल्लेख्य रहने देखिएको छ ।

तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलका करिब ४५ लाख माला बिक्री हुने अनुमान छ । त्यसैगरी मखमलीका ६ लाख, गोदावरीका २० हजार र विभिन्न फूल समावेश गरिएका ६० हजार माला बजारमा खपत हुने प्रक्षेपण गरिएको छ । यीमध्ये अधिकांश माग स्वदेशमै उत्पादित फूलबाट पूरा हुने एशोसिएसनको अपेक्षा छ ।

सयपत्रीको कारोबार ४० करोडभन्दा बढी

यस वर्ष तिहारमा सयपत्री फूलको मात्र करिब ४० करोड ५० लाख रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । प्रतिमाला औसत ९० रुपियाँ थोक मूल्य निर्धारण गर्दा ४५ लाख मालाको बिक्रीबाट उक्त रकम प्राप्त हुने देखिन्छ ।

गत वर्ष व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री माला बजारमा खपत भएको थियो । यस वर्ष उत्पादन क्षेत्र र बजारको विस्तारसँगै कारोबार बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण केही स्थानमा सयपत्री खेतीमा क्षति पुगेको छ ।

वर्षाले उत्पादनमा असर पारे पनि देशभरका विभिन्न उत्पादन क्षेत्रबाट करिब ४० लाख माला बराबरको आपूर्ति हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । बाँकी माग स्थानीय तथा ग्रामीण क्षेत्रका उत्पादकबाट संकलन गरी व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

२२५ हेक्टर क्षेत्रमा सयपत्री खेती

मुलुकभर २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ । सातै प्रदेशका विभिन्न जिल्लामा यसको उत्पादन विस्तार हुँदै गएको छ । काठमाडौं उपत्यकासहित झापा, इलाम, मोरङ, सुनसरी, चितवन, काभ्रे, धादिङ, मकवानपुर, धनुषा, सर्लाही, रुपन्देही, कास्की, पाल्पा, दाङ र कैलालीलगायत जिल्लामा व्यावसायिक खेती भइरहेको छ ।

मुख्य सहरी तथा बजार क्षेत्रमा सयपत्री फूलको मागको करिब ८८.८९ प्रतिशत स्वदेशी उत्पादनबाटै पूरा हुने अनुमान छ । बाँकी ११.११ प्रतिशत माग व्यवस्थापन गर्नुपर्ने देखिएको छ । ग्रामीण तथा उत्पादन क्षेत्रहरूमा भने आन्तरिक उत्पादनले नै माग धान्न सक्ने अवस्था रहेको एशोसिएसनको भनाइ छ ।

मखमलीमा आत्मनिर्भर

मखमली फूलको उत्पादनमा नेपाल आत्मनिर्भर अवस्थामा रहेको एशोसिएसनले जनाएको छ । यस वर्ष तिहारमा करिब ६ लाख मखमली माला बराबरको कारोबार हुने अनुमान छ । त्यसमध्ये चार लाख माला आन्तरिक बजारमा खपत हुने र करिब दुई लाख माला विदेश निर्यात हुने प्रक्षेपण गरिएको छ ।

काठमाडौंको इचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी तथा बडिखेल, धादिङ, पाल्पा, कैलाली र इलामलगायत स्थानमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदैआएको छ । औसत ४५ रुपियाँ थोक मूल्यका आधारमा मखमली मालाबाट २ करोड ७० लाख रुपियाँ बराबरको कारोबार हुने अनुमान छ ।

त्यस्तै, गोदावरी फूलका २० हजार माला बिक्री हुने र प्रतिमाला औसत १ हजार २०० रुपियाँका दरले दुई करोड ४० लाख रुपियाँ कारोबार हुने अपेक्षा गरिएको छ । विभिन्न फूल मिसाएर तयार गरिने ६० हजार मिक्स मालाबाट पनि औसत ४०० रुपियाँका दरले दुई करोड ४० लाख रुपियाँ बराबरको कारोबार हुने अनुमान छ ।

यसरी सयपत्री, मखमली, गोदावरी र मिक्स फूलका मालाबाट मात्रै ४८ करोड रुपियाँ बराबरको कारोबार हुने एशोसिएसनको प्रक्षेपण छ ।

पोली र गमलाको बजार ठुलो

तिहारमा फूलका मालासँगै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने जीवित फूलको बोट तथा गमलाको मागसमेत उच्च रहने गरेको छ । यस वर्ष ३५ लाख सयपत्रीको पोली तथा बोट बिक्री हुने अनुमान छ । प्रतिपोली औसत ३० रुपियाँका दरले यसको कारोबार १० करोड ५० लाख रुपियाँ पुग्ने देखिन्छ ।

त्यस्तै, करिब ८ लाख गोदावरीका गमला बिक्री हुने र प्रतिगमला औसत ७५ रुपियाँका दरले ६ करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । पोली तथा गमलाको बिक्रीबाट मात्र १६ करोड ५० लाख रुपियाँको कारोबार हुने अपेक्षा छ ।

भारतसँग प्रतिस्पर्धा

अध्यक्ष श्रेष्ठले नेपाली पुष्प व्यवसायको विकासका लागि स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउनुभएको छ । उहाँका अनुसार नेपाली बजारमा भारतीय फूलसँग प्रतिस्पर्धा गर्न सक्ने उत्पादन लागत, गुणस्तर र बजार व्यवस्थापन विकास गर्न नसकेसम्म आयातमा निर्भरता पूर्ण रूपमा घटाउन कठिन हुनेछ ।

तिहार तथा अन्य चाडपर्वमा सीमा क्षेत्रमा निगरानी र आवश्यक नियन्त्रणले आयात व्यवस्थापनमा सहयोग पुग्न सक्ने भए पनि दीर्घकालीन समाधान स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनु नै रहेको उहाँको भनाइ छ ।

यसैबिच, काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गरी फूल तथा माला बिक्रीका लागि ३४ स्थान निर्धारण गरेको छ । उत्पादन क्षेत्रबाट सहरी बजारसम्म फूलको सहज ढुवानी, उचित मूल्य र व्यवस्थित बिक्रीको वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको एशोसिएसनले जनाएको छ ।

एशोसिएसनले तिहारमा स्वदेशी फूललाई प्राथमिकता दिन उपभोक्ता, व्यापारी तथा सरोकारवालालाई आग्रह गरेको छ । स्वदेशी फूलको प्रयोगले नेपाली किसान र पुष्प व्यवसायीको आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । -आशा गुप्ता

सम्बन्धित समाचारः

  • तिहारपछि खुलेको सेयर बजारमा गिरावट

  • कर तिर्नु असल नागरिकको पहिचान

  • धरान कृषि बजारबाट ३० टन फलफूल बिक्री

  • भेडाच्याङ्ग्रा बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो

  • एकैदिन तोलामा तेह्र हजारले बढ्यो मूल्य

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.