काठमाडौं, १ मङ्सिर २०८३ । तिहारपछिको दोस्रो दिन खुलेको सेयर बजारमा गिरावट आएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
अघिल्लो कारोबार दिन शुक्रबार पनि घटेको बजारले मङ्गलबार समेत ओरालो यात्रालाई निरन्तरता दिएको हो । मङ्गलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंक, फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंकले घटेका छन् । बजार परिसूचक नेप्से घटे पनि कारोबार रकममा भने बढोत्तरी आएको छ ।
गत शुक्रबार तीन अर्ब पाँच करोड रुपियाँको सेयर कारोबार भएकोमा मङ्गलबार ३५३ वटा कम्पनीको ४८ हजार ७८८ पटकको कारोबारबाट कुल चार अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपियाँ बराबरको एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर किनबेच भएको छ ।
अप्पर लोहोरे खोलाको उच्च बृद्धि
मङ्गलबार अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयरमूल्य ६ प्रतिशत र एपोलो हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यता, कारोबारमा आएको एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ ।
नबिल डिबेञ्चरको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहेको छ । उक्त ऋणपत्रको २८ करोड ९१ लाख रुपियाँ बराबरको कारोबार भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावरको २० करोड रुपियाँभन्दा बढीको सेयर कारोबार हुँदा सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १९ करोड रुपियाँ नाघेको छ ।
उपसमूहको परिसूचकमा गिरावट
मङ्गलबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक मात्र सामान्य अंकले बढेको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेका छन् । घट्ने उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा मङ्गलबार सेयर बजारमा परिसूचक घटे पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायम रहेको देखाएको बताउनुहुन्छ विश्लेषक निर्मल क्षेत्री ।
मङ्गलबारको गिरावटलाई कुनै एउटा कारणसँग जोड्न नमिल्ने भन्दै उहाँले नेप्से घट्नुको मुख्य कारण बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता बढी सक्रिय हुनु र लगानीकर्ताको कमजोर मनोविज्ञान हुन सक्ने बताउनुभयो ।
अहिले नेपालको पूँजी बजारमा देखिएको प्रमुख समस्या लगानीकर्ताको आत्मविश्वास भएको भन्दै उहाँले लगानीकर्ताहरू अहिले बजारमा नयाँ लगानी गर्नुअघि पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । -भेषराज बेल्वासे