KhojSansar

मौसम पूर्वानुमान : चुनावको दिन तीन प्रदेशमा हिउँ पर्ने सम्भावना

Khoj Sansar News

काठमाडौँ, १५ फागुन २०८२ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित  मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार आजदेखि फागुन २१  गते अर्थात् निर्वाचनको दिनसम्म देशभरका तराई क्षेत्रमा बिहानपख हुस्सु र दिउँसो केही ठाउँमा तुवालो लाग्ने छ । 

अधिकारीले भन्नुभयो, “आजदेखि फागुन २१ गतेसम्म अर्थात् चुनावकै दिनसम्म देशभरकै तराई क्षेत्रमा बिहानपखको समयमा हुस्सु र दिउँसो केही ठाउँमा तुवालो लाग्ने देखिन्छ । पानी भने कतै पर्ने सम्भावना छैन ।” उहाँका अनुसार शुक्रबारदेखि शनिबारभित्र देशको पहाडी क्षेत्रका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । 

आउँदो आइतबारदेखि मङ्गलबारभित्र कोशी प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । तर, चुनावकै दिन भने यो सम्भावना अझै कम छ ।

कोशी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँहरुमा शुक्रबारदेखि मङ्गलबारभित्र हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । यस क्षेत्रमा फागुन २० र २१ गते हिउँ वा पानी पर्ने सम्भावना थोरै मात्रै रहेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “चुनावको अघिल्लो दिन र चुनावकै दिन अर्थात् २० र २१ गते यी तीनै प्रदेशमा हिउँ वा पानी पर्ने थोरै मात्रै सम्भावना रहेको छ ।”

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक, दुई ठाउँमा शुक्रबारदेखि मङ्गलबारभित्र हल्का हिउँ वा पानी पर्ने सम्भावना छ । तर, चुनावकै दिन यो सम्भावना अझै कम छ ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.