गुल्मी, २६ असार २०८२ – कालिगण्डकी गाउँपालिका गुल्मी र गोर्खा वेल्फेयर ट्रष्ट (GWT) बीचको सहकार्यमा ग्रामीण जीवनशैलीमा दिगो परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालित सेराढाड दमार खानेपानी तथा सरसफाई आयोजना सफलतापूर्वक सम्पन्न भएको छ । “एक घर, एक धारा” अभियान अन्तर्गत सञ्चालित यस परियोजनाले अब अर्बेनीका ७६ घरधुरीका ४१७ जना प्रत्यक्ष लाभान्वित भए संगै सुरक्षित र नियमित खानेपानीको सुविधा पुगेको हो ।
४ सयभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका यस आयोजनाले दुर्गम ग्रामीण बस्तीमा पूर्वाधार विकासको नयाँ सम्भावनाको ढोका खोलेको छ । ४२ लाख ६९ हजार ३५९ रुपैयाँ १२ पैसा अनुमानित लागत रहेको आयोजना ३९ लाख ६८ हजार ४३१ रुपैयाँ ६१ पैसा मा नै सम्पन्न हुनुले पारदर्शी, समयमै र प्रभावकारी कार्यान्वयनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाको नेतृत्वले २०८१ मा प्रारम्भ गरेको “एक घर, एक धारा” दृष्टिकोण अन्तर्गत खानेपानी तथा सरसफाई पूर्वाधारलाई जनस्वास्थ्य, शिक्षा र समग्र जीवनस्तरसँग जोडेर रूपान्तरण गर्ने दीर्घकालीन कार्ययोजना अघि बढाएको थियो । सोही रणनीतिको सफल कार्यान्वयनस्वरूप वडा नं. २ अर्बेनीमा सुरु गरिएको आयोजनाले मिति २०८१ चैत १६ गते देखि काम थालनी गरी २०८२ असार ५ गते भित्र तोकिएको समयसीमा मै सम्पन्न गरिएको हो । परियोजनाबाट लाभान्वित ४१७ उपभोक्ता अब घरआँगनमै स्थायी धारा, सुरक्षित पानी र भरपर्दो सेवा प्राप्त गर्न पाएकोमा खुसि व्यक्त गरेका थिए । यसले गाउँपालिकाको सामाजिक विकासका सूचकहरूमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।

आयोजनाको नेतृत्व उपभोक्ता समितिका अध्यक्ष हिमलाल न्यौपानेले गरेका थिए । समितिको संयोजन, श्रमदान, अनुगमन र स्थानीय स्वामित्वको भावना नै योजनाको सफल कार्यान्वयनको मेरुदण्ड बन्यो । समितिको समर्पण, प्राविधिक टोलीको दक्षता, कालिगण्डकी गाउँपालिका गुल्मी र दातृ संस्था GWT को प्राविधिक तथा आर्थिक सहयोगले आयोजनालाई समयमै गुणस्तरी रूपमा सम्पन्न गर्न संभव भएको हो ।
परियोजनाको हस्तान्तरण समारोह भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको थियो । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष हिमलाल न्यौपानेको अध्यक्षता, गोर्खा वेल्फेयर ट्रष्ट, गुल्मीका एरिया वेल्फेयर अफिसर (AWO) श्याम कुमार रानाको प्रमुख आतिथ्यता, वडा नं. २ का अध्यक्ष रेशमराज न्यौपानेको विशेष आतिथ्यता, कालिगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरी, कार्यपालिका सदस्य, निर्वाचित वडा सदस्य, PCCA GWT-Water का प्रोजेक्ट म्यानेजर देवेन्द्र कुमार चेम्जोङ, शिक्षा शाखा प्रमुख अग्निधर पराजुली, लेखा शाखा प्रमुख होबनाथ पौडेल, प्राविधिक शाखा प्रमुख सत्य नारायण राय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन उपभोक्ता समितिका सचिव डिल्लीराम न्यौपानेले गरेका थिए ।
यो आयोजना केवल पूर्वाधार निर्माण मात्र होइन, स्थानीय सरकार, समुदाय र दातृ संस्थाबीचको सहकार्य, पारदर्शिता र उत्तरदायित्वको प्रेरणादायी उदाहरण पनि हो । योजनाको सम्पूर्ण कार्यान्वयन प्रक्रियामा प्राविधिक मापदण्ड, आर्थिक अनुशासन र सामाजिक जवाफदेहिता उच्चस्तरमा पालना गरिएको छ । सेराढाड दमार खानेपानी आयोजना सम्पन्न भएसँगै अब अर्बेनीबासीहरूले स्वच्छ र सुरक्षित खानेपानीको नियमित पहुँच पाएका छन् । यसले जलजन्य रोगको न्यूनीकरण, बालबालिकाको स्वास्थ्यमा सुधार, महिलाको श्रमको बचत र सामाजिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । कालिगण्डकी गाउँपालिकाले आगामी दिनमा पनि यसैगरी जनउत्तरदायी, समावेशी र दीर्घकालीन योजनाहरू अघि बढाउने प्रतिवद्धता जनाएको छ । गाउँपालिकाको रणनीति, नागरिकको सहभागिता र संस्थागत सहकार्यको यो समन्वय भविष्यका लागि प्रेरक र अनुकरणीय मार्गदर्शन बन्ने विश्वास लिइएको छ ।
