गुल्मी, ३२ असार २०८२, गुल्मीको प्रमुख सडकमध्ये एक मानिने कालिगण्डकी करिडोर सडक दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । आइतबार बिहानदेखि बन्द रहेको सो सडक आज अपराह्नदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरे र वडा नं ६ बरल्वा आसपासको सडकखण्डमा अविरल वर्षासँगै चट्टानसहित ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा कालीका कन्ट्रक्सन प्रालिद्वारा डोजर र स्काभेटर प्रयोग गरी लगातार दुई दिनसम्म पहिरो हटाउने काम गरिएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुका अनुसार वर्षाका कारण पहिरो ठूलो र चट्टानसहित खसेकाले हटाउन लामो समय लागेको हो । हाल सडक एकतर्फी सञ्चालनमा आए पनि जोखिम अझै बाँकी रहेकाले आवतजावत गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेद बहादुर थापाले यस सडकखण्डमा यात्रा गर्दा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । वर्षायाम सुरु भए सगै कालीगण्डकी करिडोर सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस सडकखण्ड अवरुद्ध हुँदा गुल्मी, पाल्पा, बागलुङ हुँदै बुटवल, पोखरा र अन्य गन्तव्यहरूमा आवतजावतमा समस्या आइपर्ने गरेको छ ।
सुरक्षा निकाय र निर्माण कम्पनीको पहलमा तत्काल समस्या समाधान गरिएको भए पनि आगामी दिनमा अझ बढी सतर्कता र पहिरो जोखिम न्यूनीकरणका उपायहरू आवश्यक देखिएको सरोकारवालाहरूको भनाइ छ ।