काठमाडौं, १ साउन २०८२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हालसम्म झण्डै २५ लाख नागरिकको हस्ताक्षर संकलन भएको जानकारी गराएको छ । बिहीबार काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाले लामिछानेविरुद्ध राज्यद्वारा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै चलाएको अभियानमा हालसम्म २४ लाख ५७ हजार ६१८ जना नागरिकको समर्थन जुटेको दाबी गरेको हो ।
पार्टीका नेता दीपक बोहराका अनुसार गत ७ असारदेखि सुरु गरिएको यो हस्ताक्षर अभियान अब गाउँ-गाउँ, टोल-टोल पुर्याउने तयारीमा छ । रास्वपाले साउन ५ गतेबाट देशभर घरदैलो अभियानमार्फत जनस्तरसम्म यो अभियान लैजाने कार्यक्रम तय गरेको जनाएको छ ।
रास्वपाका अनुसार लामिछानेको समर्थनमा देशभरका प्रदेश, जिल्ला, पालिका हुँदै वडा तहसम्म हस्ताक्षर संकलन कार्य भइरहेको छ भने विदेशमा समेत नेपाली समुदायबाट अभियान सञ्चालन भइरहेको छ । पार्टीको भनाइअनुसार नेपाल भारत सीमावर्ती नाकाहरु काकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकी लगायत विमानस्थल, बसपार्क र सार्वजनिक स्थलहरुमा ऐक्यबद्धता डेस्क स्थापना गर्दै अभियानलाई थप विस्तार गर्ने वताएको छ ।
आगामी उपचुनाव हुन लागेको रुपन्देही-३ का सबै ३६ वटै वडामा बुथस्तरबाट अभियान सञ्चालन गर्ने तयारी समेत रास्वपाले गरेको जनाएको छ ।
रास्वपाका अनुसार हालसम्म प्रदेशगत संकलित हस्ताक्षर संख्या यस प्रकार रहेको छः
बागमती प्रदेश : ६ लाख ३९ हजार ८६
गण्डकी प्रदेश : ४ लाख ३९ हजार ७२३
लुम्बिनी प्रदेश : २ लाख ३६ हजार ५९५
कोशी प्रदेश : १ लाख ६६ हजार ८६१
सुदूरपश्चिम प्रदेश : ९४ हजार ५३५
कर्णाली प्रदेश : ४३ हजार ७७५
मधेश प्रदेश : २० हजार ५०५
केन्द्रीय कार्यालयमार्फत : ३३ हजार ३७०
अनलाइन र अन्य माध्यमबाट : ७ लाख ९० हजार २३०